धार्मिक सहिष्णुता कायम गरौं

धार्मिक सहिष्णुता कायम गरौं

यतिबेला कोशी प्रदेशमा सुनसरीको धरानले एक फरक प्रकृतिको बहस सिर्जना गरिदिएको छ । संविधानले धर्मनिरपेक्ष राष्ट्र भनिसकेको देशमा यसको खास बहस हुनु जरुरी थिएन । तर, सदियौंदेखि हिन्दुहरुको बाहुल्य भनिएको देशमा सामाजिक रुपमा स्थापित मान्यताको प्रभाव संविधानमा लेखिदाँसमेत हतपत समायोजन हुन सक्दैन । अर्को कुरा संविधानले निषेध गरेको विषय जर्बरजस्ती तोड्दा कानुनको उल्लंघन त हुन्छ नै सामाजिक मूल्यमा पार्ने नकारात्मक असर समेत सिर्जना हुने गर्दछन् । त्यहि प्रभावले फरक धर्म र फरक जातीबीचका आफ्ना मान्यताहरु एकअर्का विपरित हुन पुग्दा धार्मिक सहिष्णुता खलबलिने संभावना देखिएको हो । तर, यो नेपालीबीचको विविधतामा कहिल्यै पनि हुन दिनुहुन्न । एक जातिले अर्को जातिलाई र एक धर्मले अर्को धर्मलाई एकताको सुत्रमा बाँध्नुपर्ने मान्यता विपरित कसैले पनि हिंसा आकर्षित मान्यता हावी गराउन हुँदैन ।

धार्मिक सहिष्णुता भनेको, धार्मिक विश्वास र अरूको आचरणको सम्मान गर्ने क्षमता हो । अरु जो छन् ती आफ्नै भन्दा फरक छन्। उसको मानवीय र आध्यात्मिक अखण्डताको लागि आदर, तिनीहरूको विचारहरू, अभ्यासहरू र विश्वासहरू आफ्नो विपरित भएपनि पर्वाह नगर्नु नै धार्मिक विविधता भित्रको एकता मानिन्छ ।

संविधान अनुसार नेपाल धर्मनिपेक्ष मुलुक हो। धर्मनिरपेक्षता भन्नाले राज्यबाट धर्मलाई अलग गरी नागरिकले आफ्नो छनोटको धर्म अपनाउन पाउने स्वतन्त्रता हो, राज्य कुनै धर्मबाट निर्देशित हुनु हुँदैन भन्ने मान्यता छ । राज्यको काम नागरिकको धार्मिक स्वतन्त्रताको रक्षा गर्ने हो। धरानमा नागरिकले आफ्नो धार्मिक मान्यता र मूल्यलाई अपनाउँदा अर्काको मूल्य–मान्यतालाई ख्याल नगरेको विषय सामाजिक विभाजनको संभावनाउन्मुख देखिन्छ । तर, त्यहाँ आफ्नो मान्यताले अर्काको मान्यतालाई असर पुग्ने अवस्था आउन नदिन धरानवासीहरु नै सचेत हुनुपर्दछ ।

धरान आफैंमा लाहुरेहरुको शहर मानिन्छ । यसको अर्थ परिसंस्कृतिग्रहण गरेर फर्केका नेपालीहरुको बसोबास रहेको छ । इण्डियन वा बेलायतको लाहुरे पल्टनमा भिडेकाहरुले त्यहाँको संस्कृतिमा भिजेर फर्केका छन् । त्यसको प्रभाव उनीहरुको नेपाली रहनसहनमा बढ्दै गएको छ । त्यसले बाँकी जो आफ्नो मान्यतामा रहिरहेका छन्, उनीहरुलाई असर पर्दा सामाजिक मनोविज्ञानमा केहि न केहि खलल् परेको छ ।

राज्यले कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद गर्न सक्दैन । यद्यपी संविधानमा उल्लेखित विषय विरुद्धको कार्य गर्नु सरासर कानुनी राज्यको उल्लंघन गर्नु मानिन्छ । तर, जनजाती बाहुल्य बसोबासी क्षेत्रमा धर्मनिरपेक्ष राष्ट्रको मान्यता अनसारको चलन बढ्दै गएको छ । धर्मनिरपेक्षताको अवधारणामा उदारवादी व्यक्तिगत स्वतन्त्रताको पक्ष हावी हुँदा धरानमा अहिलेको विवाद चर्केको हो । यदि सबैलाई समान रूपले हेर्ने समतावादी धार पनि छ, अर्कोले आफु जस्तै बन्नुपर्छ भन्ने मान्यता छोडेर  सम्मान गर्नुपर्छ भन्ने सोचेको भए सामाजिक भावनामा ठेस लाग्ने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्