फेसबुकबाट किशोरी ‘ट्रयाप’, फेक आईडीबाट हुन्छ बार्गेनिङ

<span class='c1'>फेसबुकबाट किशोरी ‘ट्रयाप’, फेक</span> <span class='c2'>आईडीबाट हुन्छ बार्गेनिङ</span>

विराटनगर । फेसबुक तथा अनलाइन ठगीमा संलग्नहरुको पहिचान गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउन असजिलो देखिएको छ ।
फेसबुक र अनलाइन ठगीको श्रृंखलामा जोडिनेहरुले फरक व्यक्तिको पहिचान खुल्ने कागजात प्रयोग गर्ने गरेको देखिएकोले अपराधमा संलग्नहरुको यकिन गर्न समस्या पर्ने गरेको हो ।

फेसबुकबाट हुने अपराधको श्रृंखलामा पीडित बन्ने धेरै संख्या किशोरीको हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा फेसबुक र अनलाइन ठगीमा परेका उजुरी र आएका गुनासोहरुमा फरक–फरक तरिकाका पीडित सम्पर्कमा आउने गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार गत आर्थिक वर्ष फेसबुकसँग सम्बन्धित उजुरी मात्रै ८२ वटा परेका थिए । जसमा फेसबुक ह्याकका ३६, फेसबुक फेक आईडी बनाएको ४३ र फेसबुक ह्याक गरी ठगी गरेका ३ वटा घटनाको उजुरी परेका थिए । यसमा अधिकांश पीडित हुनेमा किशोरीहरु रहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो ।

यसैगरी अनलाइनबाट ठगीमा पर्ने पीडितको संख्या समेत उतिकै बढ्दो अवस्थामा रहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा एकवर्षको अवधीमा परेका उजुरीमध्ये ओटीपी मागेर पठाएपछि ठगीमा पर्ने २, गिफ्ट पठाई दिन्छु भनेर ठगीमा पर्ने २१ जना, सामान खरिदका क्रममा ठगीमा पर्ने १० जना, बैंक खाता ह्याक गरेर ठगीएकाहरु २५ जना, चिठ्ठा परेको भनेर झुक्याउँदा ठगीमा पर्ने ८ जना, धाकधम्कीबाट १ जना र विदेश पठाई दिन्छु भन्दै पैसा मागेर ठगीनेमा चारजना रहेका छन् ।

यस्ता प्रकारका साइबर अपराधसँग सम्बन्धित घटनामा फरक–फरक जुक्ति लगाएर ठगी गर्ने गरेको देखिएको छ । जस्तो की अलग–अलग व्यक्तिको तस्बीर जोड्ने र सम्बन्धित व्यक्तिलाई पठाएर बार्गेनिङ गर्ने, फेक आईडी बनाएर किशोरीहरुलाई विभिन्न विषयमा प्रलोभन र टर्चर गर्ने देखिएको छ ।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार फेस आईडी बनाएर ठगी गर्नेहरुको जालो समेत लामो रहेको छ । कसैको नाममा फेक आईडी बनाउने, उसका नातागोता पत्ता लगाएर राती भएपछि ‘आपत परेको छ पैसा पठाई दिनु’ भनेर म्यासेज गरेर समेत ठग्ने गरेको खुलेको छ ।
जसरी–जसरी भएपनि ठगीमा संलग्नहरुको पहिचान गर्न भने निक्कै कठिन रहेको छ । किशोरीलाई ट्रयापमा पार्नका लागि गरिने फेसबुक ह्याक होस् वा पैसा माग्नका लागि फेसबुकको फेक आईडी चलाउने यी सबैको पहिचानमा प्रहरीलाई असजिलो पर्ने गरेको हो ।

विदेशबाट गिफ्ट पठाउने र उपहार जितेको भनेर म्यासेज पठाउनेहरुले नेपाली बैंकमै पैसा हाल्न लगाएपनि अपराधी पछ्याउँदै जाँदा निर्दोष व्यक्तिको कागजात प्रयोग भएको पाइने गरेको छ । अपराधपछि संलग्नहरुलाई खोज्दै जाँदा कहिल्यै अपराधमा जोडिन नसक्ने तर उनका कागजात प्रयोग हुने देखिएको छ, प्रहरी नायव उपरीक्षक दाहालले भन्नुभयो–बैंकमा खोलिएको खातामा प्रयोग भएको कागजात खुलेका व्यक्तिहरु निर्दोष हुने गरेका हुन् ।

विदेशबाट नेपाली बैंकमा पैसा पठाउने, चिठ्ठा विभिन्न देश हुँदै आएको भनेर म्यासेज पठाउनेहरुसँग सावधान हुनका लागि प्रहरीले आग्रह गरेको छ । त्यति मात्रै नभई फेसबुक ह्याक भएको वा फेक आईडी भन्ने आशंका लागेमा तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्