‘बेथिती सच्याउन र सेटिङ भत्काउन’ क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता छ : अध्यक्ष दाहाल

‘बेथिती सच्याउन र सेटिङ भत्काउन’ क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपान्तरण अभियानमार्फत माओवादी जनताको भरोसायोग्य पार्टी बन्ने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडाबाट आज तीनमहिने रुपान्तरण विशेष अभियानको शुभारम्भ गर्नुहुँर्दै उहाँले कतिपय गल्ती, कमजोरी रहे पनि इतिहासबाट पाठ सिक्दै माओवादी बलियो र क्रान्तिकारी पार्टी बन्ने बताउनुभयो ।

माओवादी आन्दोलनसँग जनताको विशेष आत्मीयता, अपेक्षा र केही असन्तुष्टि रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनेपछि जनतामा अब केही हुन्छ, श्रमजीवि जनताले देखेका सपना पुरा हुन्छन् भन्ने आशा पलाएको बताउनुभयो । “सरकारले गरेका सुशासनमुखी कामबाट राजनीतिप्रति नै भरोसा जागेको छ, हामी वाचा गर्छौँ, हाम्रा कदम अग्रगमनबाट विचलित हुने छैनन्, जनताले देखेका सपना, जनताका अपेक्षा पुरा गर्ने दिशामा हाम्रो राजनीति र हाम्रो संगठन गतिशील हुनेछ”, उहाँले भन्नुभयो ।

अभियानका क्रममा सबै जनताका घरमा पुग्ने योजना निर्माण गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताका कुरा सुन्ने तथा सुझाव र आलोचना ग्रहण गरिने बताउनुभयो । हिजोका दिनमा अत्यन्तै भीषण सङ्घर्षका कठिन क्षणमा माओवादीलाई जनसमुदायले विश्वास गरेर साथ दिएकै कारणले हाम्रो आन्दोलनले सफलता प्राप्त गरेको स्मरण गर्दै उहाँले आज जनतासँगको सम्बन्ध कमजोर भएको स्वीकार्नुभयो ।

“तर, बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनको पक्षमा छन्, जनता समृद्धि र सुशासन चाहन्छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाली समाजको परिवर्तन र रूपान्तरण केवल माओवादीले मात्रै गर्न सक्छ । माओवादीकै नेतृत्वमा मात्रै समृद्ध नेपाल सम्भव छ भन्ने विश्वास जनतालाई दिलाउनुपर्छ, जनतासँग हामीले भन्न सक्नुपर्दछ ः हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ, हामी सुध्रिन चाहन्छौँ, त्यसका लागि अभियानसहित तपाईहरूको घरदैलोमा छौँ ।”

अध्यक्ष दाहालले अभियानका क्रममा नेता कार्यकर्ताको सक्रियता र जनतामाझ पुग्ने अवस्थाले राजनीतिक प्रणालीप्रति जनताको गुम्दै गएको विश्वासलाई समेत फर्काउने र रूपान्तरणका लागि ऊर्जा प्राप्त गर्ने अवस्था सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । “तीनमहिने अभियानले सरकारले अघि बढाएको पहलकदमी र पार्टीले अघि सारेको अभियानलाई लक्ष्यमा पु¥याउन ठोस भूमिका खेल्नेछ, यहाँहरू यही स्पिरिट र क्रान्तिकारी भावनाले जनतामाझ जानुहुनेछ, बलियो क्रान्तिकारी र सबैको भरोसाको माओवादी पार्टी निर्माण गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले अबको लडाईं स्थायित्व, समृद्धि र विकासका निम्ति केन्द्रित भएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम तथा सेवा प्रवाहमा सुधारको थालनी गरेको बताउनुभयो । “यहाँ बेथितिको डङ्गुर छ, कुशासनका चाङ छन्, ठूल्ठूला सेटिङ छन् । यी बेथितिलाई सच्याउने, सेटिङ भत्काउने र देशलाई साँच्चै नै सुसंस्कृत, सभ्य र समृद्ध बनाउने लडाईंमा छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “सरकारको नेतृत्वको नाताले मैले यो चुनौतीलाई स्वीकार गरेको छु । अब यसलाई गन्तव्यमा पु¥याउन सोहीअनुरूपको बलियो र क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता छ ।”

अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच र सामाजिक न्यायसहितको विकासका लागि जोड दिन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय तहमा समेत जनतासँग जोडिएका सुशासन, सामाजिक न्याय र विकासका काममा पार्टीले विशेष चासो दिन जरूरी रहेको बताउनुभयो । “माओवादीको सङ्घर्षको फलस्वरूप केन्द्रीकृत राज्यसत्ता विकेन्द्रीत भई सङ्घीयता कार्यान्वयनको तहमा गएको छ, तर स्थानीय तह र प्रदेशले जनताको अपेक्षाअनुरूप जनताका मुद्दाको सम्बोधन गर्न, सुशासन तथा सामाजिक न्याय कायम गर्न र विकास निर्माणका काम अघि बढाउन सकेनन् भने यसको बहानामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने तत्वले टाउको उठाउने मौका पाउनेछन्”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्