विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो। त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो।
मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।
कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो। सोही कारण हेर्न नमिल्ने भएको थियो।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो।
सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरी विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको भन्दै एमालेले रिट दायर गरेको हो।