सुजता लिम्बू
विराटनगर । ‘अहिले जनताले चुनाव चाहेका छैनन् । यदि चुनावमा जाने हो भने पिठ फर्काएर भाग्ने कुरा त हुँदैन । उम्मेदवार बनाएर हामी जान्छौं । तर, जनताले श्रीलंकामा जस्तो ढुंगामुढा गर्न तपाई हाम्रो घरमा आउन सक्छन्,’ कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार सुरक्षा सम्बन्धी समसामयिक छलफल कार्यक्रमा बोल्दै यस्तो बताएका हुन् ।
कोशी प्रदेशमा सरकारले स्थायीत्व दिन नसक्दा सम्भावित मध्यावधि निर्वाचनमा जान सक्ने चिन्ताको विषयलाई लक्षित गर्दै मुख्यमन्त्री कार्कीले आफ्नो धारणा राखेका थिए । कतिपय जनताले संघीयताका विषयमा समेत प्रश्न उठाउने तर्क राख्दै उनले निर्वाचन समापन भएको ८, ९ महिना नबित्दै चुनावको झण्डा लिएर गए जनताले लाठो हान्ने समेत बताए ।
ठूलो दल भएको हिसाबले एमाललाई जनताले बढी आक्रमण गर्न सक्ने बताउदै उनले अन्य दल पनि यसबाट नबच्ने उनको भनाई थियो । पछिल्लो समय सरकार ढाल्ने र प्रतिरक्षा गर्ने खेलको चेपुवामा परेको कोशी प्रदेशको राजनीतिक अवस्था र दलहरुको सत्ता मोहका कारण मध्यावधि निर्वाचनमा जाने हो या सरकारले स्थायीत्व पाउने भन्ने बहस सुरु हुन थालेको छ । त्यसो त प्रदेशसभामा प्रतिनिधित्व कुनै पनि सांसद मध्यावधि निर्वाचनमा जाने चाहेका छैनन् तर यसबाट जोगिन उनीहरुले ठोष निष्कर्ष समेत निकाल्न सकेका छैनन् ।
यता, मुख्यमन्त्री कार्की आफै सरकारको विषयलाई लिएर सर्वोच्च अदालत जाने र जीत्ने र हार्ने विषयले आजित भइसकेको बताउछन् । यसका लागि केन्द्रबाट नै सही निष्कर्ष सहित निर्देशन दिन भनेर आफूले काँग्रेस सभापति , मओवादी केन्दैका अध्यक्ष तथा सम्मानीय प्रधानमन्त्रीसँग कुरा गरेको समेत बताउँछन् ।
उनले भनेका छन्,’ गठबन्धनले स्पष्ट बहुमत पुर्याएर शासन गर्नुपर्यो र हामीले प्रतिपक्षीको भूमिका निर्वाह गरेर जाने अवस्था बन्नुपर्यो । होइन भने सबैलाई सहमति गरेर अगाडि जाने वातावरण बनोस् । त्यो विकल्प के हुन्छ दिनुपर्यो भनेको छु ।’ त्यसो त मध्यावधि निर्वाचनको त्रासमा रहेको मुख्यमन्त्री कार्की आफैँ पनि अन्य दललाई मुख्यमन्त्री स्विकारेर वा भनौँ सहमति गरेर अगाडी बढ्ने भन्ने विषयमा प्रष्ट हुन सकेका छैनन् ।
यता, नेपाली काँग्रेसका सांसद एवम् पूर्वकानुन मन्त्री केदार कार्कीले कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाउने दाबी गर्छन् । उनले गठबन्धन दलले दायरा फराकिलो बनाए सरकारको स्थीरता हुने बताउछन् । गठबन्धन दलले पनि मुख्यमन्त्री बन्ने पात्र परिवर्तन गर्नु आवश्यक रहेको बताउदै उनले दलहरुले आफ्नो अडान नछोडे मध्यावधिमै जाने संकेत रहेको बताउँछन् ।
सुरक्षाको विषयमा छलफल गर्न भन्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार विराटनगरमा सम्बोधन गर्ने क्रममा कोशी प्रदेशमा जुन सरकार बने पनि स्थायीत्व बन्नुपर्ने बताउदै मध्यावधि निर्वाचनमा जानु कुनै पनि कोणबाट उपयुक्त नभएको बताएका थिए । संविधान, कानूनअनुसार बहुमतको सरकार बन्नुपर्ने तर्क राख्दै उनले बहुमतको सरकार बन्ने गरेर छलफल गर्नु पर्नेमा उनले जोड दिए । उनले भनेका थिए,‘ हाम्रो तर्फबाट पनि मध्यावधिमा जानु नपर्ने गरी छलफल अगाडि बढाउने गरी पहल हुनेछ ।’ यता, राजनीतिक विश्लेषकहरुको बुझाई अनुसार सरकारले स्थायित्व नपाएको खण्डमा र मध्यावधि निर्वाचनमा जानु परे पुरानो दलका लागि चुनौती बन्ने देखिन्छ । नयाँ उदाएका स्वतन्त्र पार्टी र कोशी नामाकरणको आन्दोलनले पनि पुरानो दलले मत पाउन सकस हुने उनीहरुको भनाई छ ।
मध्यावधि निर्वाचनमा गए विशेषगरी पूर्वी पहाडी जिल्लाहरुमा एमाले, काँगेस, माओलादी लगायत दलले चुनौती बेहोर्नुपर्ने पहिचानपक्षधरका नेता तथा कार्यकर्ताहरु बताउदै आइरहेका छन् ।
फागुन १७ गते तत्कालिन प्रदेश १ ले 'कोशी' नाम पाएसँगै पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने आदिवासी जनजातिहरु ठूला दल नेपाली काँग्रेस, माओवादी र एमालेसँग असन्तुष्ट छन् । जसका कारण पनि यी दलका नेताहरुलाई निर्वाचनका ताका घरदैलो जान निक्कै चुनौती बेहोर्नुपर्ने देखिन्छ । पहिचनसहितको प्रदेशको नाम राख्ने प्रतिवद्धतासहित निर्वाचन भएर आएको निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो भावना विपरितको प्रदेशको नाम राखेको भन्दै पनः नामकरणको माग राख्दै पहिचानपक्षधर यतिबेला आन्दोलनमा छन् ।
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत पाउन सकस
मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई टिकाएर सहमतिको सरकार गठन गर्न प्रयासरत रहेको एमालेका संस्थापक मुख्यमन्त्री शेरधन राईले केही दिन अगाडि एकिकृत समाजवादीका संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजेन्द्र राईसँग भेट गरेका थिए । धरानमा भएको भेटवार्तामा प्रदेशको राजनीति साथै विश्वासको मतका सम्बन्धमा कुरा भएको र मिलेर सरकार बनाउने शेरधन राईको कुरा रहेको राजेन्द्र राईले उल्लेख गरेका थिए । कार्की नेतृत्वको सरकारलाई दिने विश्वासको मतको सन्दर्भमा अहिलेको सरकारलाई विश्वासको मत नदिने प्रष्ट पारेका थिए । उनले षड्यन्त्रकारी ढंगबाट भएको सरकारलाई विश्वासको मत नहुने र धारा ५ मा भने छलफल गर्न सकिने उनको भनाई थियो ।
यसअघि संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका कार्कीले प्रदेशसभाबाट बहुमत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका थिए । उनले फेरी पनि बुहमत प्राप्त गर्न सक्ने सम्भावना कम छ । सभामुखविहिन रहेको प्रदेशसभामा उपसभामुख एमालेबाटै निर्वाचित सिर्जना दनुवार छन् । एमालेले राप्रपाको सहयोगलाई कायम राख्न सकेर उपसभामुख दनुवारलाई राजीनामा गराएको खण्डमा मात्रै ४६ मत पुर्याउन सक्ने देखिन्छ । उपसभामुख दनुवारको राजीनामा नआए संसदमा यसअघि पाएको ४६ मत पुर्याउन पनि मुख्यमन्त्री कार्कीलाई सकस देखिन्छ । ९३ सांसद रहेको कोशी प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ सदस्य चाहिन्छ । कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन् ।