नेकपा एमालेको कोशी प्रदेश अधिवेशन विराटनगरमा सुरु भएको छ । वैचारिक बहसमार्फत भावी कार्यदिशा निर्माण गर्ने र त्यसका आधारमा कार्ययोजना बनाएर कार्यन्वयन गर्ने नयाँ नेतृत्व चयन गर्ने अधिवेशनको उदेश्य हुन्छ । सारभूत रुपमा राजनीतिक दलको अधिवेशनले आगामी राजनीति कार्यभार नै स्पष्ट पार्ने हो । कार्यभार पूरा गर्ने नेतृत्व निर्वाचित वा चयन गर्ने हो । संघीयता आएपनि अहिलेसम्म केन्द्रीय समिति मातहत प्रादेशिकस्तरका कार्ययोजना तयार हुनेहुन् । संघीयताका तीन तह अनुसारको पार्टीका संरचना समेत तयार भएका छन् । केन्द्रको आधार संरचनाको रुपमा स्थानीय र प्रादेशिक कमिटिहरु तयार हुनेछन् ।
माथिल्लो कमिटि मातहत, गठन हुने तल्ला कमिटिहरुको नेतृत्व आन्तरिक प्रतिस्प्रर्धाबाट हुन्छ । निर्वाचनबाट निर्वाचित हुने वा नेतृत्वको जोडबलमा सहमतिय प्रक्रियाबाट चयन हुनका लागि निश्चित प्रतिनिधिहरुको छनौट पार्टी आधारको रुपमा रहेका संगठित सदस्यबाट चयन हुन्छन् । सबै आन्तरिक पार्टीपंक्तिबाट निर्वाचित भएर आएका प्रतिनिधिले छनौट गर्ने प्रदेशस्तरको कमिटिको प्रचार भड्किलो हुनु जरुरी हुँदैन । तर, नेकपा एमालेको कोशी प्रदेशस्तरीय अधिवेशनको निर्वाचन प्रचार भड्किलो शैलीको देखिएको छ । जति र जताबाट पैसा जम्मा गरेर प्रचार सामाग्री तयार पारिएका भएपनि यो राज्यको स्रोतको फजुल खर्च मात्रै हुन्छ । त्यसमा पनि आन्तरिक पार्टीपंक्तिको अधिवेशन र निर्वाचनमा देखिएको भड्किलो प्रचारशैली नागरिकका मनोविज्ञानमा नकारात्मक नै पर्दछ । किनकी राजनीतिक दलले सञ्चालन गरेको सरकार र राज्यसँग नागरिक रुष्ट छन् ।
दलहरुले आन्तरिक कार्यक्रममा गरेको भड्किलो प्रचारको खर्च कहाँबाट जुटाए भन्ने कुरा नै नागरिकको लागि शंका गर्ने विषय बन्ने गरेको छ । आफ्नो कार्यक्रम प्रचारमा गरेको खर्चले कोहि एकजना पार्टीकै न्यून आय भएको नागरिकलाई सहयोग गर्ने वा एउटा सानो टोलका लागि पानीको सुविधा उपलब्ध गराउन सक्ने हुन्थ्यो भन्ने बुझाई नागरिकका सोचमा पर्दछ । हुन त प्रचारको सांकेतिक महत्व हुन्छ राजनीतिमा । तर, यसको जति महत्व प्रष्ट्याएपनि नागरिकले अब बुझ्ने भनेको दलहरु आफ्ना लागि जतिपनि गर्नसक्छन् भन्ने मात्रै हो । प्रतिकात्मक रुपमा बर्चश्व स्थापति गर्न गरिने यस्ता प्रचारशैली त्यहाँ जरुरी हुन्छ जुन प्रचारले देशको छवी अन्तराष्ट्रियस्तरमा फैलियोस् । राजनीतिक दलबीचको प्रतिस्पर्धा वा आन्तरिक दल भित्रकै प्रतिस्पर्धामा यस्ता प्रचार फोहोर उत्पादन गर्ने अभिप्रायको रुपमा मात्रै चित्रित हुने गरेको छ ।
सूचना र प्रविधिको युगको संकेत गर्न स्वीच थिचेर उद्घाटन गरिएको अधिवेशनमा पुरानै ढर्राका प्रचार सामाग्री सडकमा टाँग्दा नागरिकका लागि यहाँ के भईरहेको छ ? भनेर प्रश्न उब्जाउन मात्रै सहयोग हुन्छ । उत्तरमा दलको अधिवेशन भन्नासाथ जवाफ आउँछ– ‘यिनीहरुको तमासा, देशका लागि केहि गर्नुछैन, नाटक देखाएर बस्या छन् । त्यसैले अनावश्यक भड्किलो प्रचारशैली देखाएर समाजको मनोविज्ञान खल्बल्याउनु भन्दा नागरिकका एजेण्डा बोकेर देशका लागि अग्रसर हुनु दलहरुका लागि श्रेयकर हुनेछ । नत्र, फेरिएको व्यवस्थामा दलहरुको साशनमाथि प्रश्न दोहोरिने क्रम रोकिने छैन ।