कोशीमा टर्ला त मध्यावधि निर्वाचन ?

कोशीमा टर्ला त मध्यावधि निर्वाचन ?

सुजता लिम्बू
विराटनगर । सत्ता जोगाउने र भत्काउने खेलको चेपुवामा परेको कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको भनाई र राजनीतिक अवस्था अनुसार आंकलन गर्ने हो भने मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम नै देखिएको हो ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्की २० गते अर्थात शनिबार विश्वासको मत पाउन नसकेको खण्डमा पदमुक्त हुन्छन् । कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु हुन्छ । विश्वासको मत नपाए सोही धाराको उपधारा ५ अनुसार सरकार गठन हुनेछ । यसरी गठन भएको सरकारले विश्वासको मत नपाए मध्यावधि निर्वाचन हुनेछ ।

यता, विश्वासको मत लिने तयारीमा जुटेको एमालेसँग उपसभामुखसहित ४० जना सांसद छन् । सभामुखविहीन प्रदेश सभामा अध्यक्षता गर्दा उपसभामुखले मत दिन पाउने अवस्था हुँदैन । यसरी एमालेको संख्या ३९ मात्रै हुन्छ । यतिञ्जेल एमालेकै साथमा रहेको राप्रपाले पनि एमालेलाई साथ नदिने बताइसकेको छ । त्यसैले पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था कमजोर छ । त्यसो त कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने कुनै पनि सदस्यहरु मध्यावधि निर्वाचनमा जाने चाहेका छैनन् । दलका नेताहरुले बुधबार प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै मध्यावधि निर्वाचन रोक्न सबै दलहरु मिलेर जानुपर्नेमा जोड दिएका थिए ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभामा बोल्दै अहिले मध्यावधि जान सक्ने अवस्था नरहेको बताएका थिए । उनले धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्दा दलहरूले मिलेर जानुपर्नेमा उनको जोड थियो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दलहरु मिलेर मात्रै अहिलेको अवस्थाबाट निकास निस्कने बताए । प्राप्त जनादेशलाई प्रयोग गर्दै यहासम्म आइपुगेको बताउदै उनले यो प्रदेशसभा संकटमा जान नहुने बताए । उनले सबैले ठूलो छाती बनाएर अघि बढ्नु पर्नेमा जोड दिँदै जिम्मेवार ढंगले अघि बढ्ने हो भने प्रदेशलाई साझा ढंगबाट निकास दिन सक्ने उनको भनाई थियो ।

यता, नेकपा एकिकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्रकुमार राईले संसदको भूमिकाका विषयमा सरकारको कामको सन्दर्व मिल्न सक्ने जति मिलेर जानुपर्नेमा जोड दिए । सरकार गठनकै विषयमा जात्रा गरिरहेको उनको भनाई थियो । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशको संकट टार्नका लागि मिलेर अघि बढ्नुपर्ने बताएका छन् । कोशी प्रदेशमा दलहरुले नयाँ ढंगको सहमतिका निम्ती आधार तयार गर्नुपर्ने बाध्यतालाई सबैले बुझ्नुपर्ने बताउदै, संघमा भन्दा प्रदेशको फरक अंकगणित भएकाले एमाले पनि गम्भीर रहेको भनाई थियो ।
प्रदेश सरकारको फेरबदलले प्रदेशको औचित्यमाथि नै प्रश्न उठ्न थालेको राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाको भनाई छ । उनले अहिलेको समस्याबाट निकासका लागि मिलेर जानुको विकल्प नभएको समेत उनको तर्क छ ।

कोशी प्रदेशको राजनीतिक अवस्था तरल छ : कृष्ण पोखरेल
यता, कोशी प्रदेशको राजनीतिक अवस्था तरल रहेको राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउछन् । प्रदेशसभाको राजनीतिक दलहरुको अंकगणित र त्यसभित्र बनेको गठबन्धनले गर्दा कुनै दल वा गठबन्धनसँग सुविधा जनक बहुमत हुने अवस्था नरहेको बताउँदै उनले यो अवस्थाबाट अगाडी बढ्न प्रदेशको राजनीतिक सुझबुझको आवश्यकता रहेको बताउछन् ।

अहिलेसम्म राजनीतिक सुझबुझमा अभाव देखिएको तर्क राख्दै उनले भन्,‘धेरै अवस्थामा केन्द्रको मुख ताकेको देख्छु, त्यसैले पनि चुनौतीपूर्ण अवस्था देख्छु ।’ अहिले संविधानले प्रस्तुत गरेका विकल्पहरु मध्ये बनेको विकल्पको सरकारले अहिलेसम्मको विभिन्न राजनीतिक दलको बाहिर आएको स्थिति अनुसार मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले सदनमा बहुमत ल्याउने सम्भावना एकदम कम रहेको उनको भनाई थियो ।
‘हुन त राजनीति सम्भावनाको खेल भन्छन् तर अहिलेसम्मको अवस्था हेर्दा एकदम क्षीण छ ।’ उनले भने,‘ त्यसले गर्दा संविधानको धारा एक्टिभेट हुन्छ मलाई के लाग्छ भने त्यति खेर राजनीतिक दलहरुले बुद्धि पुर्याउछन् र अबको अवस्थालाई मध्यावधिमा जानल रोक्छन् ।’
प्रदेशसभा मध्यावधि निर्वाचनमा गए प्रदेश प्रति नै नकारात्मक फैलिएको बेला राज्यमाथि र जनता माथि मध्यावधि बोकाएको भन्ने जनताले बुझ्ने उनको भनाई थियो । राजनीतिक परिस्थिति हेर्दा पहड चढ्दा पहिचानवाीको डर र तराईमा स्वतन्त्रको चुनौती रहेको समेत उनले बताए ।
‘ राजनीतिक परिस्थिति हेर्दा पहाड चड्दा पहिचनवादीको डर छ, हिजो जनताले मत हाल्दा नेताहरुलाई हाले, अब प्रदेशको नामकरणको निर्णय हामीले भोट हाल्ने प्रदेशसभाको सदस्यले गर्ने रहेछन् भन्ने थाहाभएपछि पहिचापक्षले के गर्न सक्छन् भने हो, उकालो चढ्दा पहचिानवादी, तराई झर्दा स्वतन्त्रको भय हुन्छ ।,’ उनले भने,‘ तनहुमा नेपाली काँग्रेसले जितेको सिट स्वतन्त्रले लग्यो । त्यसैले पनि प्रदेशमा राजनीतिक दलहरुले मध्यावधिसम्म लगेर जाँदैन । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्