विद्यालयको सरसफाईमा अभिभावक सहयोगी बन्नुपर्छ

विद्यालयको सरसफाईमा अभिभावक सहयोगी बन्नुपर्छ

बालबालिकालाई सामाजिक एकता, समानता, सहिष्णुताको पाठ सिकाउँदै समाजसापेक्ष जीवननिर्वाह गर्न सक्ने नागरिक तयार गर्न विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ । विद्यालय पनि समुदायको आवश्यकताअनुसार सञ्चालित हुन्छ । उद्देश्य र कार्यहरू समुदायका आवश्यकतामा आधारित हुन्छन्, त्यहि भएर विद्यालयलाई सामुदायिक स्रोत मानिन्छ ।

बालबालिकाको चौतर्फी विकास र भावी जीवनका लागि उनीहरूलाई तयार गर्ने तथा सामाजिक कुशलताको विकास गर्ने काम विद्यालयले गर्दछ । बालबालिकाको शिक्षाका लागि विद्यालयको स्थापना हुन्छ । जसले समाजलाई आवश्यकता भएअनुरूपको सेवा प्रदान गर्ने कार्य गर्छ । समाजलाई विकसित र प्रगतिपथमा डोहो्याउने भनेकै विद्यालय हो । जहाँ विभिन्न समुदायका बालबालिका शिक्षा लिन सहभागि हुन्छन् । त्यहाँ उनीहरुको भविष्यमार्ग निर्धारण गर्ने काम शिक्षकले गर्दछन् । विद्यालयबाट बालबालिकालाई दिइएको शिक्षाले समाजलाई समुन्नत बनाउँछ ।
विद्यालयको विषयमा प्रस्तुत पृष्ठभूमिले त्यसको सकारात्मक सन्देशको पक्ष बोकेको छ । विद्यालय भन्ने बित्तिकै शिक्षाको मन्दिर वा घरपछि शिक्षा–संकार दिएर धारणा र व्यवहार परिवर्तन गर्ने विद्याको थलो मानिन्छ । विद्यालयलाई सुव्यवस्थित ढंगबाट सञ्चालन गरेको अवस्थामा त्यसको प्रभाव विद्यार्थीको ज्ञान, व्यवहार र धारणमा स्वतः पर्दछ । जसको प्रभाव समाजमा प्रसारित हुन्छ । समाज संरचना भित्र विद्यालयका विद्यार्थी र विद्यार्थीका अभिभावक हुन्छन् । त्यसैले विद्यालय भित्रको सुन्दरता, सरसफाई, सुरक्षामा अभिभावक समेत उतिकै जवाफदेही हुन्छन्, जति शिक्षक–शिक्षिका वा व्यवस्थापन समिति हुन्छ ।

विद्यालयलाई सुव्यवस्थित ढंगबाट सञ्चालनकै लागि अभिभावकमध्येबाट व्यवस्थापन समिति बन्ने गरेको छ । यसले आम अभिभावकको प्रतिनिधित्व गर्दै विद्यालय सञ्चालनमा सहयोग गरिरहेको हुन्छ । समग्र अभिभावकको प्रतिनिधित्व भएको विद्यालय व्यवस्थापन समितिले बालबालिकाको हितका लागि कार्य गर्नुपर्दछ । तर, विद्यालयको जर्गेनामा भने आम अभिभावकको उतिकै महत्व हुन्छ । शिक्षाको पहिलो खुड्किलो घरबाटै प्रारम्भ हुने भएकाले बालबालिकालाई विद्यालय र त्यस भित्रको महत्वका बारेमा जानकारी गराउनु पर्दछ । त्यति मात्रै नभई व्यक्तिगत रुपमा आफ्नो घर भित्रको सरसफाई र सुन्दरताको वातावरण विद्यालयमा समेत लागु गर्नुपर्ने विषयको ज्ञान भरिदिनुपर्दछ ।
त्यसपछि आफ्ना सन्तान पढ्न जाने विद्यालयको भित्री र बाहिरी वातावरणको विषयमा अभिभावकले चासो दिने, कमजोरी देखिए सहयोग गरेर सच्याउनु पर्दछ । त्यसले मात्रै आफ्ना बालबालिकाको ज्ञान, व्यवहार र धारणा सानैदेखि सामाजिक र उन्नत बन्दै लैजान्छ । निष्कर्षमा विद्यालय क्षेत्र भित्रका शौचालय होस् वा वातावरण शिक्षाले भरिपूर्ण भएको सन्देश दिनसक्ने हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्