काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुको आन्दोलन स्थगित

काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुको आन्दोलन स्थगित

डिउटीमा कार्यरत इन्टर्न डाक्टरमाथि कुटपिट भएपछि कानुनी कारवाहीको माग गर्दै आन्दोलनरत काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् । प्रकरणमा संलग्न २ जनालाई प्रहरीले प्रक्राउ गरेपनि अर्का व्यक्ति फरार रहेकोमा ती फरार व्यक्तिलाई समेत पक्राउ गरी कारवाही चलाउन माग गर्दै आन्दोलनरत चिकित्सकहरुले फरार अभियुक्तको विवरण पत्ता लगाएर प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

उक्त किटानी जाहेरी अनुसार काठमाडौं जिल्ला अदालतले फरार अभियुक्तको नाममा पक्राउ पुर्जी जारी गरेपछि आन्दोलन स्थगित गर्दै मुद्दाको अन्तिम फैसला नआउञ्जेल सम्मका लागि खबरदारी भने कायम रहेको जनाएका छन् । शुक्रबार कलेज प्रशासन र केएमसी स्वास्थ्यकर्मी सुरक्षा संघर्ष समितिले संयुक्त विज्ञप्ति जारी गर्दै मुद्दालाई निर्णायक मोडमा पुर्याउन सम्मानित काठमाडौं जिल्ला अदालतले गर्ने न्यायिक निरुपणलाई सम्मान गर्दै हाललाई आन्दोलन स्थगित गरेको बताएको छ ।

घटनाका अभियुक्तहरुले पूर्णरुपमा सजाय नपाईसकेको भएतापनि दुई अभियुक्त हिरासतमा रहेको र फरार अभियुक्त माथि पक्राउ पुर्जी जारी भएर कानुन संम्वत प्रक्रिया अगाडी बढ्नुमा नै नेपालका सम्पूर्ण स्वास्थ्यकर्मीको जीत भएको महशुष गरिएको जनाईएको छ ।

नेपालकै इतिहासमा पहिलोपटक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संसोधन २०७९) अनुसार गौशाला प्रहरी वृत्तमा सोही दिन नेपाल मेडिकल एशोसिएसन, केएमसी प्रशासन र संघर्ष समितिको संयुक्त पहलमा फौजदारी अभियोगमा जाहेरी दर्ता गर्न सफल भएको भन्दै यो घटनाक्रमले अबको दिनमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी माथि हुने आक्रमण विरुद्ध सोच्न बाध्यात्मक परिस्थिति सिर्जना गरेको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिने छैन भन्नेमा आफुहरु विस्वस्त रहेको जनाइएका अस्पताल प्रबन्धक नारायण दाहाल तथा संघर्ष समितिका संयोजक डा. विजय केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गत असोज १५ गते केएमसीको नेफ्रोलोजी विभागको ओपिडीमा अपरान्ह डिउटीमा कार्यरत इन्टर्न डाक्टर मनिष खड्कामाथि तीन जनाको समुहले कुटपिट गरेको थियो । घटनामा प्रहरीले गुल्मी स्थायी घरभई काठमाडौं बस्ने रुपक गौतम र सरोज गौतमलाई पक्राउ गरिसकेपछि एक जना फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्