ऋणको भार

<span class='c1'>ऋणको</span> <span class='c2'>भार</span>

सुजता लिम्बू
सधैँ लालीपोतेले सजिएर हिँड्ने दमन्ता आजभोली शिशिर याममा उजाडिएको रुख झैँ देखिन थालेकी छिन् । रित्तो, श्रृंगारबिहिने । उनी भित्रको खुशी, हौसला र जीवन बाँच्ने आँट ‘रुढी’को ज्वरोले महिनौ थलिएर निधन भएको श्रीमानको चितासँगै जलेको छ । हाँसेर मात्रै बोल्ने स्वभाव बदलीएको छ । उनी हाँस्दा पनि आँसु लुकाउन हाँसे झैँ महसुस हुन थालको छ । एकोहोरिन थालेकी छिन् । झट्ट हेर्दा लाग्छ, कुनै गहिरो निद्रामा पुगेर जीवनलाई विश्राम दिए झैँ ।

ए.. मुखिनी पो आउनु भएछ !
दुई हात जोडेर गुन्द्रि तान्दै बस्न आग्रह गरिन । उनको बदलिदोँ स्वभावले अलमिलएको ‘मुखिनी साइली’ दशैँको मुखैमा दमन्ताको लोग्ने बिरामी हुँदा सापटी चलाएको पैसाको व्याज उठाउन आएकी रहेछिन् । गर्भमा हुर्कदै गरेको सन्तान । सिँउदोको सिन्दुर पखाल्न बाध्य बनाएर कहिल्यै नफर्किने बाटो रोजे श्रीमानले । त्यसमाथि परिवारको किचलोले मन मस्तिष्कबाट थाकेकी दमन्तालाई अब मुखिनीलाई पन्छ्याउन बहानाको शब्द र हिम्मत थिएन । आखाँका डिलबाट खस्न नसकेको आँसुको ढिक्का, मलिन अनुसारसँगै जुरुक्क उठेर घरभित्र पसिन् । ‘मुखिनी साइली त जमिन्दार थिइन्, दुईभाई छोरा अरबमा थिए । छोरीहरु सबै कमाउने ज्वाई सँग नै गएका छन् । तर, पनि मान्छेलाई नपुग्ने रहेछ ।’ अध्यारो कोठामा थुनिएर माइतीघरको आमालाई भकानिदै बेलीबिस्तार सुनाइन् ।

खै ? आमाले दमन्तालाई के सल्लाह दिइन्, आँखामा छल्किएको आँसु पुच्छदै बाहिर आएर पुरानो बाकसबाट कानको एकजोर झुम्का निकालेर मुखिनीको हातमा थमाइदिइन् । मुखिनीसँग प्रश्न गर्ने कुने शब्द थिएन, दमन्तासँग पनि तत्काल मुखिनीलाई दिइने उत्तर थिएन । दुवैजना मौनताको बादलभित्र मडारिए । हराए । एकैछिन् गुमनाम भए । एकअर्कालाई हेराहेर गरेर मुखिनी पोल्टामा सुनको झुम्का बोकेर हिँडिन । ओरालो बाटो मुखिनी ओझेल नपरुन्जेलसम्म दमन्ताले हेरिरहिन्, आँखाका डिलबाट पारी देखिएको अरुण नदी झै आँशु आफ्नै बेगमा बगिरहेको थियो । रोकिने कुनै नाम लिएको थिएन । आँशु रोकिउन पनि कसरी सहयात्री गुमाएको महिना दिन ननाग्दै ऋण माग्न आउनेको लर्को, सम्पत्तिको नाममा त्यही माइतीले दिएको झुम्का पनि गुमाउनुपर्दाको पिडा । अब गुमाउनु बाँकी के नै होला र ? यही प्रश्नहरुले सायद दमन्ताको मनभित्र बादलहरु मडारिएका थिए होलान । त्यसैले त आँखाभरी साउने भेल झैं आँसु झरेको ।

वर्गीय असमान्ताले गिजोलेको समाजलाई समानताको बाटो हिँडाउन जनयुद्धमा होमिएकी थिइन् दमन्ता । जातिय विभेद, धनी र गरिबको ठूलो खाल्डो पुर्न १४ वर्षको उमेरमा धनकुटाको माटोलाई साक्षी राखेर जनयुद्धको बाटो रोजेकी थिइन् । जंगे दर्जी (दमन्ताको बुवा) को फाटेको दौरा र चुहिने छानो, दशैँको बेला माना उठाउन जाँदा बा ले भोगेको विभेदको पिँडाले पढाई बीचैमा छोडेर घरको संघार नाघेकी थिइन् । विद्रोही पक्ष र राज्य पक्षबीच भएको पटक–पटकको भिडन्तबाट ज्यान जोगाएर फर्किन सफल भएकी दमन्ता गरिबीको चारघेराबाट जीवित रहन सकिनन् । हिजो बेहोरेको गरिब र धनी बीचको खाल्डो अँह ! पुरिएकै रहेनछ । मानवता हराएको समाजमा पैसा नै शक्तिशाली रहेछ भन्ने बुझाइले होला दमन्ता श्रीमानको मृत्युपछि दुःख सुख सन्तानको जन्म दिएर कुबेतका लागि उडान भरिन् । उनको उर्जाशिल उमेर परदेशको माटोमा नै वित्ने भयो । सन्तानको हेरचाह, पढाई खर्च, श्रीमानको उपचारमा लागेको ऋण, जिर्ण अवस्थामा रहेको घरका पर्खाल र चुहिन लागेको छानो टाल्दा, टाल्दै उमेरले चार दशक नाघ्न लागेछ ।

‘गाँउ गाँउबाट उठ बस्ती–बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ
हातमा कलम हुनेहरु कमल लिएर उठ
बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ ।’

कुनै समय आन्दोलनताका घन्किने यी गीतले पनि क्रान्तिको बाटो रोजेकी थिइन् । सत्ता स्वार्थ झन ठूलो खाडल हो भन्ने पत्तो पाएको भए दमन्ताले यो गीतै सुन्ने थिइनन् । १० वर्षे जनयुद्धले व्यवस्था बदल्न सफल भएपनि जनताको अवस्था बदल्न नसक्दा विकल्पको खोजी गर्दै वैदेशिक राजगारीका लागि अर्काको माटोमा टेक्न पर्ने उनका लागि त त्यही अभावमा हुर्किएको माटो नै स्वर्ग हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्