काठमाडौं । मोबाइलमा आएको ‘म्यासेज’लाई लिएर पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्रप्रसाद सुवेदीमाथि कुटपिट गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘फाइटर लिङ्देन’ नाम रहेका प्रमुख प्रशासकीय अधिकृत लिङ्देनको कुटपिटबाट सुवेदीको दायाँतर्फको आँखामा चोट लागेको छ । उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भएको छ । घटना आइतबार बिहानको हो ।
पीडित सुवेदीले भने, ‘मेरो नाममा भएको सिमबाट म्यासेज आयो भन्नुभयो तर कुन सिमबाट आयो ? कस्तो म्यासेज आयो भन्ने केही थाहा छैन । आइतबार बिहान क्वार्टरमा बोलाएर हातपात गर्नुभयो ।’
घटनापछि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेको कार्यकक्षमा अहिले कुटपिटमा संलग्न प्रमुख प्रशासकीय अधिकृत लिङ्देन र पीडित सुवेदी पक्षबीच छलफल भइरहेको छ । छलफलमा सहभागी गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङ्बोले छलफल मेलमिलापमा केन्द्रित रहेको बताइन् ।
‘घटना हिजो बिहानको रहेछ । फेरि हिजै कार्यक्रम थियो । मैले त थाहा पाइनँ । तर, कुट्नु सरासर गलत हो । कुट्न त पाइँदैन नि’, उपाध्यक्ष मेन्याङ्बोले भनिन्, ‘अहिले हामी जिसस प्रमुखको कार्यकक्षमा छौँ । मेलमिलापका लागि छलफल भइरहेको छ ।’ कुुटपिटमा संलग्न प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले भने घटनाबारे प्रतिक्रिया दिन चाहेनन् ।
प्रेम सम्बन्ध घटनाको कारक ?
कार्यालय सहयोगी सुवेदीको मोबाइल नम्बरबाट प्रमुख प्रशासकीय अधिकृत लिङ्देनको मोबाइलमा पठाएको भनिएको म्यासेजमा के छ ? तथ्य बाहिरिएको छैन । तर, सोही म्यासेजलाई लिएर लिङ्देनले सुवेदीमाथि कुटपिट गरेका हुन् ।
स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत लिङ्देन र गाउँपालिकाकै एक जना महिला कर्मचारीबीच लामो समयदेखि प्रेम सम्बन्ध छ । उनीहरूको प्रेम सम्बन्ध यसअघि नै छताछुल्ल भएको थियो । गाउँपालिकाका धेरै कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासी उनीहरूको सम्बन्धबारे जानकार छन् ।शिलापत्रबाट