चाडपर्वका लागि चिटिक्क छैन विराटनगर

चाडपर्वका लागि चिटिक्क छैन विराटनगर

विराटनगर । दशैं, तिहार तथा छैठ पर्वहरु नजिक आएका छन् । यो समय घर कोठा, आगन, बाटो र टोल सरसफाई गरेर चिटिक्क पार्न सामुहिक प्रयास हुने परम्पार नै छ । पर्वोत्सव सरसफाई मात्रै नभई वर्षात्को समयमा पलाएको झाडी, थुप्रिएका पातपतिङ्गर र फोहोरजन्य वस्तु सरसफाई तथा व्यवस्थापन गर्ने माध्यम पनि मानिन्छ ।

चाडपर्व भित्रदै गर्दा विराटनगरका कतिपय स्थानमा भने फोहोरको समूचित व्यवस्थापन हुन सकेको देखिदैन । कतिपय चौकमा सुर्तीजन्य वस्तु खाएर त्यसका प्लाष्टिकजन्य खोलहरु त्यसै फ्याँकिएको अवस्थामा भेटिन्छन् । महानगरपालिकाले सुर्तीजन्य वस्तु बिक्री वितरणमा कडाई गर्दै फोहोर उत्पादनको स्रोत न्यूनीकरण गर्ने दावीसहित अभियान सुरु गरेको थियो । तर, पनि महानगरपालिकाको यो दावी विद्यालयका शौचालयदेखि शहरका मुख्यचौकहरुमा अव्यवस्थित फोहोर फ्याँकाईबाट पुष्टि हुन भने सकेको छैन ।

कतिपय स्थानमा त संक्रमण फैलाउने किसिमको फोहोर समेत भेटिन्छ । कतिपय नालाहरुमो झाडीले पुरिएको छ । झाडी नभएपनि कतिपय नाली वर्षात्मा सफाई गरेर ढकन नलगाई छोडिएको अवस्थामा पाइन्छ । चाडपर्व नजिकीदै गर्दा बाहिरबाट आउने पाहुनाका लागि समेत महानगरपालिकाले आफ्नो क्षेत्र भित्र सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ तर शहरका कतिपय स्थानमा अव्यवस्थित रुपमा फोहोरका पोका थुपारिएका भेटिन्छ ।

विराटनगर महानगरपालिकाको फोहोर संकलन गर्न तीन वटा निजी साझेदार कम्पनीसँग सम्झौता गरिएको छ । महानगरको उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी क्षेत्र सगरमाथा मल्टिसप्लायर्सले फोहोर संकलन गर्दै आएको छ ।

महानगरको उत्तरी क्षेत्र अन्तर्गत वडा नं १,२,३,४,५ र १९ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी नेपाल फुलबारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रा.लि.लाई मासिक ९० हजार भुक्तानी गर्ने गरिएको छ । त्यस्तै विराटनगरको मध्यभाग अन्तर्गत वडा नम्बर ६,७,८,९, १० र ११ को फोहोर संकलन र व्यवस्थापन  स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपाल नामक सस्थाले जिम्मा लिइएको छ । यसले महानगरपालिकासँग मासिक एक रुपिँया मात्रै लिने गरि सम्झौता गरिएको छ । पाँचवर्षको ठेक्काका लागि यो संस्थाले ६० रुपिँया मात्रै बोलकबोल गरेको हो ।

त्यसैगरी विराटनगरको दक्षिणी क्षेत्र वडा न १२, १३,१४, १५, १६, १७ र १८  सगरमाथा मल्टि सप्लायर्स सर्भिसेज प्रा.लि.ले फोहोर संकलन र व्यवस्थापन गर्ने गरी सम्झौता गरेको छ । जसलाई महानगरपालिकाबाट मासिक तीनलाख रुपिँया भुक्तानी गरिन्छ । यसरी महानगरपालिकाले यी कम्पनीलाई बुझाउनु पर्ने मासिक दायित्व  तीनलाख ९० हजार एक रुपिँया मात्रै छ ।

तर, कतिपय कम्पनीले भने राम्रोसँग काम नगर्ने गरेको महानगरपालिकावासी सन्जय उरावको गुनासो छ । महानगरपालिकामा समेत फोहोर प्लाष्टिकमा पोका पारेर सडकमा फ्याँकिएको देख्दा कता–कता दुःख लाग्ने उनी बताउँछन् । उनले साझेदार कम्पनीले घरमा उत्पादन भएको फोहोरलाई घरैबाट नियन्त्रणमा लिनुपर्ने बताए । कतिपय स्थानमा नालाका ढकन समेत महिनौसम्म नलगाईकोमा उनको गुनासो छ ।
विराटनगर–७ निवासी मिना घिमिरेले चाडपर्वमा सरसफाईलाई दिनुपर्ने प्राथमिकता नदिएको गुनासो गरिन् । उनले मासिक रुपमा ३४९ रुपैँया सरसफाईका लागि शुल्क बुझाउँदा समेत चौकमा फोहोर थुप्रिएको देख्नु परेको बताइन् ।

महानगरपालिका अन्तर्गत शहरी स्वास्थ्य तथा सरसफाई व्यवस्थापन महाशाखा प्रमुख पुनम दाहालले भने ठाउँठाउँमा फोहोर भेटिएपनि अति नै नभएको दावी गरे । उनले नालाको सरसफाई भईसकेको जानकारी दिए । महानगरपालिका भित्र दैनिक २५० सरसफाईकमी परिचालित हुने गरेको दाहालको भनाई छ ।

दाहालले महानगरका सडकमा कसैले घरमा उत्पादन भएको फोहोर फ्याँकिएको पाइएमा जरिवाना तिराउने गरेको बताए । उनले कसैले फोहोर फ्याँक्ने गरेको भनेर प्रमाणसहितको सूचना दिएमा ५०० देखि एकलाखसम्म जरिवाना भराउन लगाईने बताए । उनले चाडपर्व लक्षित सरसफाईका विभिन्न पक्ष रहेको बताउँदै दशैं–तिहार र छैठसम्ममा सबै कुरा मिलिसक्ने दावी गरेका छन् । अहिलेसम्म दशैं लक्षित गर्दै ५० प्रतिशत सरसफाईको काम सकिएकोले अब फूलपातीसम्ममा बाँकी काम सक्ने बताए । त्यसपछि छैठका लागि महानगरका विभिन्न घाट तथा नहर सरसफाईको काम थालिने उनको दावी छ ।

महानगरको फोहोर व्यवस्थापनको जिम्मा लिएका साझेदार कम्प्नीमध्ये उत्तरी क्षेत्रमा ९० जना, मध्य क्षेत्रमा ११८ र दक्षिणी क्षेत्रमा ४५ जना सफाई कर्मचारी परिचालित रहेका छन् ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्