विराटनगर । विराटनगरमा साविक अवस्थामा दैनिक २०० वटा खशीबोकाको खपत छ । दैनिक पाँच हजार ब्रोइलर कुखुरा खपत हुन्छ । खशीबोकाको तथ्यांक ठ्याक्कै यति नै भन्ने नभएपनि ब्रोइलर कुखुराको तथ्यांक भने व्यवसायीहरुले राखेका हुन्छन् । तर, तथ्यांक राखेका व्यवसायी पारीबाट आउने खशीबोका र कुखुराका कारण हैरानीमा छन् ।
मोरङ मासु व्यवसायी बिक्रेता संघका अध्यक्ष सुवास शिवाकोटीले विराटनगरमा भारतबाट आउने खशीबोका र ब्रोइलर कुखुराले बजार खिचेको बताउँछन् । ‘कहाँबाट कसरी भित्रन्छ भन्ने सबैलाई थाहा छ तर नियन्त्रण गर्ने चासो कसैलाई छैन’ अध्यक्ष शिवाकोटीले भने–क्वारेन्टाइन भन्ने एउटा कार्यालय सीमामा छ, त्यसले उल्टै दशैं मनाईरहेको हुन्छ । मासु बिक्रेता संघका अध्यक्षको यो गुनासोले विराटनगरसहित मोरङमा भित्रने खशीबोका र कुखुराको स्वास्थ्य परीक्षण हुँदैन भन्ने स्पष्ट संकेत गर्दछ ।
साविक समयमा दैनिक २०० सयवटासम्म खशीबोका खपत गर्ने विराटनगरमा तीन क्याटोगोरीका मासु पसल रहेको अध्यक्ष शिवाकोटीको भनाई छ । उनका अनुसार एउटा समूह जसले भारतबाट खशीबोका र कुखुरा झोला–बोरा, नहर हुँदै भित्र्याउने गरेका छन् । जसले सीमा क्षेत्रमा हुने सेटिङको फाइदा लिन्छन् । भारतमा बुढा कुखुरा २०० रुपैँया प्रतिकेजी पाइन्छ । नेपालमा उत्पादन भएका कुखुराको मूल्य प्रतिकेजी २५० रुपिँया पर्ने भएपछि त्यसको अन्तरमा सेटिङ मिल्ने गरेको उनको भनाई छ । खशीबोका समेत भारतमा रोगाएर औषधी–उपचार गराएका तर खानयोग्य नभईसकेका मात्रै नेपालमा भित्रने गरेको उनको भनाई छ ।
मासु बिक्री गर्ने अर्को समूहले स्थानीय खशीबोका खपत गर्ने गरेको उनको भनाई छ । त्यो समूहले भारतबाट ल्याएका खशीबोका र कुखुरा समेत चलाउँदैनन् । र, तेस्रो समूहले पहाडी क्षेत्रबाट खशीबोका ल्याएर बिक्री गर्ने गरेको अध्यक्ष शिवकोटीको दावी छ । उनका अनुसार कन्चनबारीमा भएका केहि मासु पसलहरुमा पहाडबाट आउने खशीबोका पाउने गरेका छन् । विराटनगरका हटियामा समेत भारतबाट भित्र्याएका खशीबोका बिक्री हुने गरेको उनको भनाई छ । चाडपर्वमध्ये दशैंमा मासुको कारोबार धेरै हुने गरेको छ । विराटनगरमा कति खशीबोका खपत हुन्छन् भन्ने यकिन नै छैन ।
यस्तो बेला विराटनगरमा भित्रने खशीबोकाको विषयमा स्थानीय सरकारले समेत कुनै चासो राखेको छैन । महानगरपालिका पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवले यो दशैंमा कुनै अनुगमन नभएको बताए । गतवर्षको दशैं आसपास विराटनगरका मासु पसलको अनुगमन गरिएको भएपनि यो दशैंमा मासु पसलसम्म अनुगमन गर्न नभ्याइएको उनको भनाई छ । विराटनगरमा १५० को हाराहारीमा फ्रेस हाउस रहेका छन् । तर, महानगरपालिकामा दर्ता भने ८५ वटा रहेका छन् । दर्तावालदेखि वितादर्ता सञ्चालन भएका फ्रेस हाउसबाट कस्तो मासु पाइएला भन्ने दोधारेपन उपभोक्ताले नै बेहोर्नुपर्ने भएको छ ।
स्थानीय सरकारले यसमा थोरै चासो दिएको भए केहि सुधार हुनसक्ने संभावना रहेको थियो । तर, विराटनगर महानगरपालिकाको पशुपंक्षी शाखाले अनुगमन गर्ने अवसर जुटाउन नसकेको यादवको भनाई छ । उनले भने अनुगमन गर्नका लागि आवश्यक व्यवस्थापन मिलाउनुपर्छ, महाशाखा र अनुगमन अधिकृतले निर्देशन दिएको हुनुपर्छ । उनले अनुगमन गर्ने सवारी साधन र टिम नै यो दशैंमा जुट्न नसकेको बताए । ‘दशैंमा सकिएन, दशैंपछि अनुगमन गर्नेछौं’ यादवले सस्तैमा आफ्नो प्रतिक्रिया दिएका छन् ।
इन्दु साह