निर्वाचनका समयमा गरेका प्रतिबद्धता पूरा गर्नु सांसदको कर्तव्य हो : नेत्री खातुन

निर्वाचनका समयमा गरेका प्रतिबद्धता पूरा गर्नु सांसदको कर्तव्य हो : नेत्री खातुन

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालय मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।

नेत्री खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसके तापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिनुभयो ।

मतदाताले कानुन निर्माणमा कति प्रगति भयो तथा बाँकी के–कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय सङ्ख्यात्मक संरचनाले तीव्ररुपमा कानुन निर्माणमा चुनौती खडा गरेको बताउनुभयो ।

हिउँदे र बर्खे अधिवेशन सकिँदासम्म जति कानुन निर्माण गर्नुपर्ने हो त्यो नभएकामा आलोचना भइरहेको बताउँदै उहाँले जनताका आवाज र कानुन निर्माणलाई सबै राजनीतिक दलले साझा एजेण्डा बनाउनपर्ने विचार प्रकट गर्नुभयो ।

सांसद खातुनले भन्नुभयो, “स्वार्थको राजनीतिक कारण एकअर्काको अस्थित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने, सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आआफ्नो स्वार्थ रहने परिस्थितिले कानुन तर्जुमालाई तीव्रता दिन चुनौती खडा भएको छ ।”

नेत्री खातुलनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुनपर्नेमा सस्तो लोकप्रियताका लागि नियमापत्ति गर्ने, आरोपप्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएकोे टिप्पणी गर्नुभयो । जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउदै कांग्रेस केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुबान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र वन्यजन्तुबीचको द्वन्द्व प्रमुख समस्या रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न प¥यो । जल्दाबल्दो समस्या त्यही हो । बाढी पनि समस्याकैरुपमा छ । पुल आवश्यक छ ।”

खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्टाचार निवारणका लागि चुनौती खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पु¥याएको धारणा राख्नुभयो ।

हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसाबले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उहाँले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पु¥याउन आवश्यक रहेको सुझाव दिनुभयो ।

विचारमा बलियो र निष्ठावान् भए पनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै नेत्री जागाले गरिब र जनताको सेवामा समर्पित व्यक्ति अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

मुलुकको शिक्षा क्षेत्र र उद्योगधन्दा पर्वर्दनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको जनाउँदै उहाँले देशभित्रै स्वरोजगार मुखी सबैखाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा महिला, बालबालिका तथा समाजकल्याण समिति सदस्यसमेत रहनुभएकी सांसद खातुनले बर्दिया सबैखाले समुदायबीच हार्दिकता र सामाजिक सद्भाव कायम गरेको नमुना जिल्लाका रुपमा स्थापित रहेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सबै समुदायबीच धार्मिक, सामाजिक, भाषिक र सांस्कृतिक सद्भाव कायम छ, एक अर्काको धर्म, संस्कृति र चाडपर्वलाई सम्मान गर्दै सबै समुदायको चाडपर्वमा सबै सहभागी हुने शुभकामना आदानप्रदान गरी भाइचाराको सम्बन्ध कायम गरेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्