ऐतिहासिक हर्सिङडाँडामा पर्यटक वृद्धि

ऐतिहासिक हर्सिङडाँडामा पर्यटक वृद्धि

लमजुङ । राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईवस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ हर्सिङडाँडासम्म पुग्ने बाटो राम्रो भएको र यसबारे प्रचार-प्रसार हुन थालेसँगै पर्यटकको वृद्धि हुन थालेको हो ।

विगतमा सुनसान जस्तै हुने यहाँ यतिबेला दैनिक ४० देखि एक सय जनासम्म पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा ओझेलमा पर्दै आए पनि केही समयदेखि भने पर्यटक घुम्न तथा बास बस्ने गरेर आउने गरेका छन् ।” विस्तारै मौसम राम्रो हुँदै गएको र बाटोसमेत राम्रो भएकाले पर्यटक वृद्धि हुने स्थानीय सुरज गुरुङले बताउनुभयो ।

यस स्थानमा चार युवा मिलेर खाना र बस्नका लागि पूर्वाधार निर्माण गरेपछि पर्यटक आगमनमा बढेको हो । पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवा मिलेर ११ लाख लगानीमा खाना-बस्नका लागि ३५ जनासम्म अट्ने हल निर्माण गर्नुभएको छ । यहाँ आउने पर्यटकलाई अर्ग्यानिक खाना खाजा दिने गरिएको छ ।

यस डाँडाबाट मर्स्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, ढङ्गै, भुस्मे, घनपोखरालगायत अधिकांश ठाउँ देखिन्छ । त्यस्तै दक्षिण एसियाकै नमुना घलेगाउँडाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मर्स्याङ्दी नदीको नागबेली, डा. हर्क पिक हिमाल, मनास्लु रेन्ज, बुद्ध हिमाललगायतका देख्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुर डाँडासमेत देख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।

यहाँ खाना बस्नका लागि एक रातको प्रतिव्यक्ति एक हजार लिने गरेको छ । यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको स्थानीयको भनाइ छ । यसै वडामा वि.सं.१८०२ मा खुदीको ढुङ्गेबेसीमा जन्मिनुभएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा वस्तुभाउ चराउने, छेलो हान्ने गर्नुभएको थियो । हर्सिङडाँडामा गाईवस्तु चराउनुभएका भक्ति थापा वि.सं.१९७१ मा नेपाल-अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक हुनुहुन्थ्यो । उहाँ लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मनुभएको हो । उहाँ पहिले लमजुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेको इतिहास छ ।

गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रुपमा काठमाडौँ पुगेको करिब एक वर्षपछि उहाँ नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न हुनुभएको थियो । वि.सं.१८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उहाँले गर्नुभयो । देउथलमा अङ्ग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो । अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिं थापालाई बुझाएको इतिहास छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्