तिहार : दिदीबहिनी र दाजुभाईको अटल प्रेमसहितको पुर्नमिलन

तिहार : दिदीबहिनी र दाजुभाईको अटल प्रेमसहितको पुर्नमिलन

हिन्दुशास्त्र अनुसार तिहारको आफ्नै विभिन्न प्रकारका महत्व छन् । यसको धार्मिक, साँस्कृतिक, वैज्ञानिक महत्वका कारण अन्य चाडपर्व भन्दा व्यापकता छ । पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूमा सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरेर घरमा गई रमाइलो मनाएको महत्व छ । यसैले पाँच दिनलाई यमपञ्चक मानिन्छ । दाजु पुग्दा पुग्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई आफ्नो ईच्छाएको कुरा माग्न भनेको मान्यता छ । त्यसबेला बहिनीले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु’ पर्ने माग राखेकी थिइन् । दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयू, कीर्ति सदा वृद्धि होस्ु भन्ने वरदान यमुनाले मागेको धर्मशास्त्रमा उल्लेख छ । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वरदान दिएर विदा भएको मान्यताले प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको हो ।

तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई भावनात्मक रुपमा जोडेको छ । नेपाल, भारत, भुटान र म्यानमारमा यसलाई विशेष महत्व दिएर मनाउने चलन छ । नेपाल र भारत कृषि प्रधान देश भएका कारण कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँने समयको सन्देशको रुपमा समेत तिहारलाई मनाउने गरिन्छ । भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न काग, कुकुर, गाई, गोरुलाई समेत पूजा गर्ने प्रचलन रहेको छ । पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरूको पूजा–आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिने गरिएको छ ।

नेपाल तिहारको अझै ठूलो महत्व रहेको छ । सबै पर्वमा सबै नेपालीको भावना नसमेटिएपनि तिहारमा सबै जातजाति र समुदायबीच यो पर्व लोकप्रिय रहेको छ । दाजुभाई र दिदीबिहनीबीचको भेटघाट र पुर्नमिलन गराउने पर्व समेत मानिन्छ । संयुक्त परिवारबाट क्रमशः एकल परिवारमा विभाजित भएका घरहरुका सदस्यलाई एकै स्थानमा भेला हुने अवसरको रुपमा तिहारले जुटाई दिने गरेको छ । अर्को महत्वपूर्ण पक्ष भनेको विवाह गरेर घरजम गराएकी चेलीको घरमा माइती पुग्ने अवसर तिहारले जुराउने गर्दछ । यसले आफ्नी दिदीबहिनीको घरको अवस्था कस्तो रहेछ भन्ने जानकारी माइतीले प्रत्यक्ष बुझ्न पाउनेछन् ।

प्राचिनकालको मान्यताले आधुनिक युगमा फरक प्रकारले महत्व दर्शाउने गरेको छ । यहि महत्व तिहारले समेत फरक ढंगले प्रस्तुत गर्दछ । आधुनिकतासँगै भड्किलो शैलीमा मनाइने पर्वलाई सबैका भावना जोड्न नसक्न पनि सक्दछ । त्यसैले हाम्रा पूर्खाले पालना गरेको मान्यतालाई हाम्रा आगामी पुस्तालाई समेत उपहारको रुपमा संरक्षण गर्दै सामान्य तर रमाइलोसँग दिपावली मनाउन सबैमा हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्