प्रतिशोध

प्रतिशोध

- भरत गुरागाई (बर्बरिक)
अनर्थक युद्ध लड्दा लड्दा थाकेको छु
एकछिन नचलाऊ मलाई ।

मैले युद्ध लड्दा
प्रयोग गरेका सामग्रीहरुले
मेरो घृणा र पश्चात्तापको डिग्री बढाइदिन्छन् ,
म स्वयं बल्दो अग्निसमान बनिदिन्छु,
त्यसैले ती सामग्रीहरु
कुनै खोलामा विसर्जन गरिदिए हुन्छ,
जङ्गलको कुनै रुखमा झुण्ड्याइदिए हुन्छ,
अथवा फ्याँकिदिए हुन्छ
कुनै अग्निकुण्डमा ।

कमसेकम अहिले नचलाऊ मलाई ।

द्रौपदीको चाउरिएको अनुहारमा
पटक्कै कान्ति थिएन,
कहीँ कतै विजयी हुनुको खुशी थिएन,
कृष्णको कुटिलता पढ्न नसकेर नै हो
भीष्मले बाणशैयामा सुत्नु परेको,
कालजयी अश्वत्थामा मरेको
झुठो बयान दिने युधिष्ठिरले
कलिला सपना सजाएको बालक अभिमन्युलाई
युद्ध मोर्चामा घचेटेको कथा माथि
अघोर घिन छ मलाई ।

लामो विश्राम र गहिरो निद्रामा डुब्न चाहन्छु
कमसेकम अहिले नचलाऊ मलाई ।

मेरो निद्रा भङ्ग भयो र
म फेरि युद्धमा फर्किएँछु भने
युद्ध विरुद्ध नै प्रतिशोधको
प्रलयकारी बाढी उर्लिनेछ ।

बिल्कुल नजिस्क्याऊ मलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्