विभेदविहीन छठ पर्वको शुभकामना

विभेदविहीन छठ पर्वको शुभकामना

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको षष्ठी व्रतको रुपमा मनाइने छठ सुरु भएको छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठको रुपमा मनाईने गरिन्छ । छठ पर्व नेपाल र भारतमा एक महत्त्वपूर्ण पर्वको रुपमा मनाउने गरिएको छ । षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालमा यसको महत्व तराईमा विशेष रहेको छ । श्रद्धा एवं भक्तिपूर्वक मनाउने यो पर्वले सबै जातजाति र समुदायबीचको एकता झल्काउने गर्दछ ।

छठको पर्वमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।

पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।अग्नि पुराणमा यसको षष्ठी व्रतको प्रसँग उल्लेख छ भने चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

छठ पर्वमा नदी, खोला, तलाउ र जलाशयमा नुहाउने र सूर्यको उपसना गरिनुले यसले मानव र प्रकृतिलाई समेत एकाकार गरेको देखिन्छ । एकाकार र अन्तरनर्भिरता रहेको स्पष्ट सन्देश दिने गरेको छ । हिन्दु धर्मालम्बीहरुको दशैंपछि तिहार र तिहारपछिको छैठ पर्वसँगै पर्वोत्सवहरु सकिन्छन् । छठ पर्व विभेदविहीन मानिन्छ । यसमा कुनै जाति, समुदाय र धर्मको मात्रै आस्थासँग नहेरी सबैले समान रुपमा आस्था प्रकट गर्ने गर्दछन् । नेपालमा धार्मिक सहिष्णुता झल्काउन सबै धार्मिक आस्था राख्नेहरुले पर्वहरु मनाउनेहरुलाई सम्मान गर्दछन् र भक्तिभावलाई आदर दर्शाउने गरेका छन् । यो वर्षको छठ पर्व उत्साह र उमङगले मनाऊँ, हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्