काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले गण्डकीलाई २७ रनले हरायो । त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३० रनले हरायो । जितसँगै मधेशले चार खेलबाट दुई अङ्क बनाएको छ । तेस्रो हार खेपेको गण्डकीको पनि दुई अङ्क छ ।
मधेशले दिएको एक सय १३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमै समेटिएको थियो । गण्डकीका लागि सुमन खतिवडाले ४२ र सृष्टि जैसीले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा मधेशका पूजा महतोले तीन तथा सरस्वतीकुमारी चौधरी, कप्तान कविता गौलमा र साक्क्षि यादवले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको मधेशले निधौरित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो । मधेशका लागि पूजा महतोले ३८, सरस्वतीकुमारी चौधरीले अविजित २६ र प्रतिमा शाहले १० रन बनाउनुभयो। बलिङमा गण्डकीका लागि सुमन खतिवडाले तीन तथा कुशुम गोदार र सृष्टि जैसीले एकएक विकेट लिनुभयो ।
यस्तै त्रिवि मैदानमा जितका लागि लुम्बिनीले प्रस्तुत गरेको एक सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रन मात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहराले २२, यमुना थारुले २१, अन्जु गुरुङले अविजित १३ र रश्मि खड्काले अविजित ११ रन बनाउनुभयो । बलिङमा लुम्बिनीका सरस्वती पुन र कृतिका मरासिनीले दुई दुई तथा चमेली चौधरी र शर्मिला रोक्काले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान सरस्वती घर्तीमगरले अविजित ५३ रन बनाउनुभयो । आस्मा पुलामी मगरले २५ र चमेली चौधरीले १८ रन जोड्नुभयो । बलिङमा कर्णालीकी यमुना थारु, रश्मि खड्का र तिर्सना विश्वकर्माले एक एक विकेट लिनुभयो । जितसँगै लुम्बिनीले चार खेलबाट चार अङ्क बनाएको छ । चारै खेलमा पराजित कर्णाली अङ्कविहीन छ ।