संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा युनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपालले गुणस्तरीय शिक्षा लागि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आधुनिक प्रविधि सहितको गुणस्तरीय शिक्षा लागि युडब्लुएस संखुवासभाले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा युडब्लुएस नेपाल र स्थानीय तहको भूमिकाबारे अन्तरक्रिया गरेको जनाएको छ । आधुनिक प्रविधि सहित अध्ययन तथा सिकाइ विधिको माध्यमबाट ग्रामिण तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि संखुवासभाका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँग युडब्लुएस नेपालका अध्यक्ष खेमराज खड्काले जानकारी दिए । सामुदायिक विद्यालयअन्तर्गत आधारभूत तहमा अध्ययनरत बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्य राखेर संस्थाले आफ्नो गतिविधि गर्दै आएको अध्यक्ष खड्काले बताए । युनाइटेड वल्र्ड स्कूलले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संचालन गरेका परियोजनाको उद्देश्यहरु प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा प्रवद्र्धनमा स्थानीय तहका जनप्रतिनिधिसँग सुझाव समेत संकलन गरेको छ । कार्याक्रममा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यसहित युडब्लुएस नेपालले आफ्नो परियोजना (कार्यक्रम) सञ्चालन गरी भौतिक पूर्वाधार लगायतमा लगानी गर्ने बारे जानकारी गराइएको थियो ।
२०७२ सालमा स्थापना भएको संस्थाले हाल सङ्खुवासभा, गुल्मी र ताप्लेजुङ जिल्लामा ७६ वटा विद्यालय भवन निर्माण गरिसकेको संस्थाका शिक्षा विभाग प्रमुख आशिष अधिकारीले जानकारी दिए । परियोजना कार्यान्वयन संस्था र सम्बन्धित स्थानीयबीच सहकार्य र साझेदारीमा गरिने बताइएको छ । परियोजनाअन्तर्गत भवन निर्माण गर्दा आधारभूत तहको कक्षा १–५ सम्मको विद्यालयमा आठ कोठे र १–८ कक्षा सञ्चालित विद्यालयमा ११ कोठे भवन निर्माण गर्ने गरेको अधिकारीले जानकारी दिए ।
प्रविधिसहितको सिकाइ, खेलकुद सामग्री, दक्ष शिक्षकका लागि तालिम र विद्यार्थी सहयोग कार्यक्रमसहितका गतिविधि पनि संस्थाले गर्ने उनको भनाई छ । हाल परियोजना कार्यान्वयनमा रहेका जिल्ला बाहेक भोजपुर, धनकुटा, तनहुँ र हुम्लामामा विस्तार गर्ने तयारी रहेको युडब्लुएसले जनाएको छ ।
पाँच वर्ष पछि युडब्लुएसले विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने गरेको छ । हाल सम्म १३ विद्यालय हस्तान्तरण गरी सकेको संस्थाले जनाएको छ ।