सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचामा सञ्चालित प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट तथा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएका दुवै खेलकुद प्रतियोगिता सुन्दरहरैंचा ९ स्थित प्रस्तावित इन्द्रपुर रंगशालामा सम्पन्न भएको हाे ।
पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आट्र्सका विभिन्न प्रस्पिर्धाहरूमा सुन्दरहरैँचा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र तथा छात्राहरूले बेग्लाबेग्लै प्रतिस्पर्धा गरेका थिए । यस्तै प्रथम सुन्दरहरैँचा स्पोट्र्स मिट २०८० मा अनुलेखन नेपाली र अंग्रेजी, चित्रकला, हिसाब दौड, बौद्धिक दौड, चकलेट दौड, भाले जुधाई, फुटबल, स्किपिङ, वक्तृत्वकला, दौड, वादविवाद, चेस र निबन्ध लेखन गरि २५ विधामा प्रतिस्पर्धा भएको थियो ।
यस प्रतियोगितामा नगरक्षेत्रमा रहेका ८० वटा विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरूको सहभागिता रहेको थियो समापनकाे दिन पुरूष भलिवल र १३ वर्ष मुनिको फुटबल प्रतियोगिताको फाइनल खेल खेलाइएको थियो । जसमा भलिवलको उपाधि सुकुना माध्यमिक विद्यालयले जितेको थियो । फुटबलको उपाधि सिद्धार्थ सेकेण्डरी स्कुलले जितेको थियो ।
पाँचौं राष्ट्रपनि रनिङ कप २०८० को उपाधि साजीलाल माध्यमिक विद्यालय सुन्दरहरैंचा ६ ले जितेको छ । गतवर्ष समेत उपाधि जितेको साजीलालले यसवर्ष २१ स्वर्ण, ८ रजत र ८ कास्य गरि ३७ पदक सहित उपाधि जितेको हो ।
यस्तै ११ स्वर्ण, ९ कास्य र ३ रजतसहित २३ पदक जित्दै सुन्दरहरैंचा ६ कै पूर्वाञ्चल एकेडेमी दोश्रो भएको छ । सुकुना माध्यमिक विद्यालय सुन्दरहरैंचा १० ले १० स्वर्ण, ११ रजत र १० कास्यसहित ३१ पदक जित्दै तेश्रो स्थान हात परेको छ ।
प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट २०८० को उपाधि भने सुन्दरहरैंचा ६ मा रहेको नीजि विद्यालय पूर्वाञ्चल एकेडेमीले हात परेको छ । ४ स्वर्ण, १ रजत र ३ कास्य गरि कूल ८ पदक सहित पूर्वाञ्चलले उपाधि जितेको हो । यसैगरि ४ स्वर्ण र २ रजत सहित ६ पदक जितेको सिद्धार्थ सेकेण्डरी स्कूल दोश्रो भएको छ । २ स्वर्ण ५ रजत र १ कास्य गरि ८ पदक जित्दै सुकुना माध्यमिक विद्यालय तेश्रो भएको छ ।
सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा समापन कार्यक्रम भएको थियाे । प्रतियाेगितामा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंकप्रसाद गौतम प्रमुख आतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै गौतमले पठनपाठनका साथै खेलकुद क्षेत्रको विकासमा समेत विद्यालयहरुले ध्यान दिनुपर्ने उल्लेख गरे । नगर उपप्रमुख अकली चौधरीले स्वागत मन्तव्य गरेको कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष,प्रधानाध्यापकहरू लगायतको आतिथ्यता रहेको थियो ।