प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश प्लेअफमा प्रवेश

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश प्लेअफमा प्रवेश

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा कोशी प्रदेश प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो ।

लगातार पाँचौँ जितसँगै दोस्रो स्थानमा रहेको कोशीले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनाएको छ । जितको लागि एक सय १९ रनको लक्ष्य पछ्याएको कोशीले १७.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । कोशीको जितमा काजोल श्रेष्ठले ५४ रन बनाउनुभयो । कप्तान रुविना क्षेत्रीले अविजित ५१ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमकी अनु कडायतले दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । सुदूरपश्चिमको लागि ओपनर बिन्दु रावलले ३३ रन बनाउनुभयो । सम्झना खड्काले २७, कविता जोशीले २६ र रेवती धामीले २० रन बनाउनुभयो । बलिङमा कोशीकी सबनम राई र अप्सरी बेगमले एक एक विकेट लिनुभयो । हारसँगै ६ खेलबाट आड अङ्क बनाएको सुदूरपश्चिम तेस्रो स्थानमा छ ।

यस्तै मुलपानी मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले लुुम्बिनी प्रदेशलाई आठ विकेटले नै पराजित गरेको छ । जितको लागि ९७ रनको मध्यम लक्ष्य पछ्याएको मधेशले १८.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । मधेशको जितमा पूजा महतोले अविजित ६० रन बनाउनुभयो । अनुराधा चौधरी १७ र सरस्वती कुमारीले १२ रन बनाउनुभयो । बलिङमा लुम्बिनीको सुस्मिता भुषाल र कमला घर्तीमगरले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो । लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ६४ रन बनाए पनि टोलीको हार टरेन । सरस्वती घर्तीमगरले १० रन जोड्नुभयो ।

बलिङमा मधेशकी साक्षी यादवले दुई तथा आरती महतो र कविता गौतमले एक एक विकेट लिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्