काठमाडौं । निर्वाचन आयोगले अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ ।
राष्ट्रियसभाका रिक्त १९ पदका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
उम्मेदवारविरुद्ध परेका उजुरीमाथि पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । आयोगले पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।