विराटनगर । छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाका एकजना पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीले माई नगरपालिका-६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो ।
उनले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनीहरुबीच सोमबार राति घरेलु विषयमा विवाद भएको थियो । त्यस क्रममा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट सिकिस्त घाइते भएका जीवनलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनापछि गाउँलेले दिलकुमारलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।