मुस्ताङ : जता हेर्यो उतै राम्रो

मुस्ताङ : जता हेर्यो उतै राम्रो

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नैपर्ने विश्वका ५२ वटा गन्तव्यमध्ये ३७ औं नम्बरको सूचीमा समावेश गरेपछि यसले थप चर्चा बटुलेको छ । वास्तवमा मुस्ताङ पुग्ने हुटहुटी हरेक पर्यटकलाई हुनेगर्छ । मुक्तिनाथ, जोमसोम, लोमान्थाङ र कागवेनी पर्यटकको रोजाइमा पर्छ । तर मुस्ताङका हरेक स्थान घुम्न लायक छन् ।

जोमसोम भन्दा लगभग ९० किलोमिटर माथि लोमान्थाङ उक्लिनेहरुले झनै रोमान्चक अनुभूति गर्न सक्छन् । खुल्ला र पठार क्षेत्र रहेको लोमान्थाङको सिरसिरे बतास, हिमाली मरुभूमी, ऐतिहासिक केभ(गुफा)हरु, लोभलाग्दो र अनौठो संस्कृति, मिजासिला गाउँले साथै नेपाल-चीनको सीमा नाका कोरोला नजिकैका सेताम्मे समथर फाँटहरुको यात्रालाई जीवनभरका लागि अविस्मरणीय बनाइदिन्छ ।

कालिगण्डकी नदीको तिरैतिर उराठ डाँडाहरु पारगर्दै पुगिने लोमान्थाङ साहसीक यात्रीहरुका लागि एउटा अब्बल गन्तब्य बनिरहेको छ । सन् १९९० को दशकयता मात्र विदेशीका लागि खुला गरिएको यहाँ पुग्दा मन साँच्चै रोमान्चक हुन्छ । आँखै अगाडि देखिने निलगिरी र धौलागिरी हिमालको दृश्यले मन चंचल बनाइदिन्छ । र प्राचिन गुफाहरुले ध्यान खिच्छ । तीर्थाटन, घुमघाम, साहसिक पदयात्रा, चलचित्र र म्युजिक भिडियो निर्माणको विशिष्ट गन्तव्य बनिसकेको तल्लो मुस्ताङपछि सँगै माथिल्लो मुस्ताङ र मुस्ताङ्गी राजाको दरबार रहेको लोमान्थाङ पछिल्लो समय नयाँ गन्तब्यका रुपमा स्थापित हुँदै गएको छ ।
जोमसोमका होटल व्यवसायी कृष्ण सुवेदी बलिउडका चर्चित कलाकारले फिल्म सुटिङको गन्तब्य मुस्ताङलाई त्यसै मानेका होइनन् भन्दै प्रशंसा गर्छन् । हुनपनि दुई दशक पहिले नै अभिताभ बच्चनले मुस्ताङ टेकेका रहेछन् । सुवेदी भन्छन्,‘कुनै समय फिल्म ‘खुदा गवाह’को सुटिङ गर्न अमिताभ बच्चन, श्रीदेवी, डेनी डेङजोम्पा आउनुभएको यहाँका अग्रजहरुले बताउने गर्नुहुन्छ । उहाँहरुले यहाँका होटल व्यवसायीहरुसँग खिचेका तस्बिरबाट स्पष्ट हुन्छ । किन उहाँहरुले यही ठाउँलाई रोजे तपाइँ आफैं अनुमान लगाउनुहोस ?’ हुन पनि मुस्ताङ भनेपछि जोकोही पुग्न लालायित हुन्छन् । फिल्म सुटिङ मात्र होइन कतिपय जोडीको हनीमुन गन्तब्य पनि मुस्ताङ बन्ने गरेको छ ।

मुस्ताङको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूणर् हिमश्रृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो । मुस्ताङ उक्लिसकेपछि निलगिरी र धौलागिरी हिमाल आँखै अगाडि टल्किरहेको देख्न पाइन्छ । लोमाथान्ङबाट यि हिमाल झनै नजिकै देखिन्छ । लोमान्थाङ भने साहसीक पदयात्री, घुमन्ते र खोज अनुसन्धानकर्ताहरुका लागि रमाइलो गन्तब्यका रुपमा परिचित छ । त्यसमध्ये हालैमात्र सडक संजालले जोडिएको कोरला नाका र नजिकै रहेको लोमान्थाङ पछिल्लो समय चर्चामा छ । नेपाल-चीनबिचको संवादपछि कोरला नाका खुल्ने तरखरमा छ । कोरलाबाट कैलाश मानसरोवर पुग्न नजिक पर्छ । नाका खुलेपछि मुस्ताङको पर्यटनले थप उचाइ लिने लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ गुरुङ बताउँछन् ।

उनी भन्छन्,‘मुस्ताङका सबै स्थान घुम्न लायक छन् । त्यसमध्ये लोमान्थाङमा मुस्ताङ्गी राजाको दरबार अवलोकन गर्न धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । अन्नपूणर् राउन्ट यात्रा सकेर विदेशीहरु लोमान्थाङ आइपुग्छन् । पुरातात्वीक महत्व बोकेको प्राचिन गुफा, राजदरबार, नाकाको समथर भू-भाग, नौलो भू-वनोट र मानिसहरुको रहनसहन हेरेर रमाउने गर्छन् ।’ विशाल हिमाली मैदानमा पर्खालले घेरिएका लोमान्थाङका घरहरु आफैंमा आकर्षक छन् । घरका छानामाथि राखिएका दाउराका चाङ, बौद्धमार्गीहरुको झन्डा र तिब्बती संस्कृति हेर्दा रोचक लाग्छ ।

आदिमकालको गढी र किल्ला मात्र होइन आफूभन्दा होचो स्थानमा देखिने हिमश्रृंखला नियाल्न पाउँदा लोमान्थाङ अनौठो गन्तब्य लाग्न सक्छ । सिरसिर चलिरहने बतासले आनन्द महशुस गराउँछ । पुरातात्व महत्वका बस्तुहरुको अवलोकनका लागि यहाँ पुग्नेहरुले दरवार, गुम्वा, किल्ला र मानवबस्तीका गुफा हेरेर नयाँ तथ्य बुझन् सक्छन् । लोमान्थाङ दरवार बाहेक चराङ दरवार र घमी दरवार पनि आकर्षक लाग्न सक्छन् । भेडा चर्ने फाँट र याकहरु घुमन्तेहरुका लागि अझ आकर्षक लाग्छन् ।

१५औं शताब्दीताका निर्माण भएका थुप्तेन गुम्बा, मोन्खर दरवार, छयोदेन गुम्बा, झयाम्पाल गुम्बाहरु साँचै रोचक लाग्छन् । आठौं शताब्दीतिर तिब्बतका राजा ढिक्सुन थक्चेनले निर्माण गरिएको भनिएको विश्वकै पुराना गुम्बा, मान्हे र चैत पनि लोमान्थाङ क्षेत्रमै रहेको बताइन्छ । त्यसैले पनि बौद्ध दर्शनका अध्येता वा बौद्धमार्गीहरुका लागि उपल्लो मुस्ताङ रोजाइमा पर्ने गरेको छ । तिजी पर्व, यार्तुङ जात्रा यहाँको आकर्षण हो । उपल्लो मुस्ताङको लोमान्थाङबाट २२ किलोमिटर टाढा कोरोला नाकाको नेपाली भूमिमा पुगेर धेरै नेपालीहरु रमाउने गर्छन् । २४ नम्बर पिलर अघिल्तिरको घमाइलो फाँट र सेताम्मे हिउँमा रमाउनेहरु प्रशस्त भेटिन्छन् । अहिले चौडा सडक कोरोला नाकासम्मै पुगेकाले घुम्न असहज छैन् । कुनै समय तिब्बत-नेपाल-भारतको नुन व्यापारको मार्ग मानिएको यो स्थान पुगिसकेपछि दामोदर कुण्डसम्म जानेहरु पनि प्रशस्त भेटिन्छन् ।

दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङ जिल्लाको तिलिचो ताल भन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ । जोमसोमदेखि करिव १२० किलोमिटर टाढा छ । पुग्न दुई दिन पैदल लाग्छ । लोमान्थाङ पुगेपछि छोटो दूरीको पदयात्रा, स्याउ तथा ओखर खेतीको अवलोकन पनि गर्न सकिन्छ ।
मुस्ताङबाट पदयात्राका लागि तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेक, टुकुचे बतासे लेक, टुकुचे नाथांग खर्क लोकप्रिय छन् ।

मुक्तिनाथसँगै शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गुम्बा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गुम्बा टुकुचे रानी गुम्बा, मार्फा गुम्बा चर्चित धार्मिक स्थल हुन् । मुस्ताङमा भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिणतिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास रहेको पाईन्छ ।

कसरी पुग्ने ?
समुद्री सतहदेखि ३८४० मिटरको उचाइमा रहेको लोमान्थाङसम्म मोटर बाटो पुगेको छ । ठूला पहाड र चट्टानहरु फोरेर निर्माण गरिएको कच्ची तर फराकिलो सडक छ । मोटर यात्रा गर्दा पट्यार लाग्दैन । करिब २५-३० किलोमिटरको यात्रामा भेटिने एकान्त बस्ती र सडक छेउमा होटलहरु खुलेका छन् । तर मेन्यू निकै महंगो छ । किनकी पोखरा र बेनीबाट मोटरबाटै पुग्ने खाद्यय सामग्रीको धुवानी चर्को पर्ने ब्यापारीहरु बताउने गर्छन । सादा खानाको ३ सय ५० देखि ४ सय ५० रुपैंयाँसम्म पर्छ । होटलका कोठाहरु पाँच सयदेखि दुई हजार रुपैंयाँसम्मका भेटिन्छन् ।

पोखराबाट जोमसोम १ सय १३ किलोमिटर हो । जोमसोमबाट लोमान्थाङ ९० किलोमिटर छ । सार्वजनिक यातायातमा पोखरा-जोमसोम १२ सय रुपैंयाँ जोमसोमबाट लोमान्थाङ १८ सय रुपैंयाँ गाडी भाडा तोकिएको छ । तर धेरैजसो पर्यटकहरु गाडी रिर्जब गरेर जान्छन् ।
जोमसोममा हवाइ मैदान पनि रहेकाले जहाज पनि जान्छ । लोमान्थाङमा होटल र लजहरु प्रशस्त खुलेकाले गासबासको समस्या पर्दैन । सँधै हिउँ पर्ने भएकाले अशोज-कार्तिक वा चैत-बैशाख लोमान्थाङ घुम्नका लागि उपयुक्त समय हो । हुवा र फापरको परिकार साथै च्याङग्राको सुकुटी यहाँ लोकप्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्