बिर्तामोडमा सातौं राष्ट्रिय भक्का दिवस हुने

बिर्तामोडमा सातौं राष्ट्रिय भक्का दिवस हुने

झापा । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले मनाउँदै आएको भक्का दिवसको सातौं संस्करणको तयारी पूरा भएको छ । राजवंशी समाज विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो ।

झापाको बिर्तामोडमा बर्सेनि पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाइँदै आएको छ । यो पटक डोमालाल राजवंशी रंगशालामा कार्यक्रम गरिने भएको छ । राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीका अनुसार कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सहभागिता रहने छ ।

राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भक्काको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भक्का दिवस मनाइँदै आएको राजवंशीले बताए । भक्का दिवस सुरु भएपछि तराईको जाडोयाममा भक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उनले जानकारी दिए ।

यो वर्षको भक्का दिवसमा १ सय ५० जना महिलाले दुई हजार किलोग्राम चामलको पिठोबाट भक्का बनाउने छन् । कार्यक्रममा प्रस्तुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आउने भएकी छन् । पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन् ।

त्यस्तै, सेलिब्रेटी सेफ सन्तोष साह पनि कार्यक्रममा सहभागी हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा पाँच सयजना कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने ३० हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्