युट्युब च्यानल सञ्चालकलाई आचारसंहिता बुझाउन सुरु

युट्युब च्यानल सञ्चालकलाई आचारसंहिता बुझाउन सुरु

काठमाडौं । प्रेस काउन्सिल नेपालले युट्युब च्यानल व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण सुरु गरेको छ ।

काउन्सिलले बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका च्यानल सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरेको हो।
कार्यक्रममा युट्युब च्यानल सञ्चालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री सम्प्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाएका थिए । उनीहरूले डिजिटल माध्यममार्फत सूचना सम्प्रेषण कार्यमा सहयोग नभएको गुनासो गरेका थिए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमा च्यानल सञ्चालन गर्नेहरुले आचारसंहिता पालना गर्दै पत्रकारिता गर्ने हो भने सञ्चारका सबै क्षेत्रबाट साथ सहयोग हुने बताए । काउन्सिलले युट्युबरका समस्यामा गम्भीरतापूर्वक काम गरिरहेको भनाइ उनको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्ने भन्दै हिजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब सञ्चालकले भोगेको धारणा राखे ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले युट्युबमार्फत गरिने पत्रकारिता सन्तुलित र जवाफदेही नहुने हो भने यसमाथि प्रश्न सधैं उठिरहने बताए । काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल, अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमलगायतले सञ्चार माध्यमका रूपमा सञ्चालन हुने युट्युबलाई व्यवस्थित र विश्वसनीय बनाउन जरुरी भएको उल्लेख गरे ।
कार्यक्रममा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले ‘युट्युब र आचारसंहिता प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै काउन्सिलका सदस्य ठाकुर बेलबासेले ‘आचारसंहिताअन्तर्गतका निर्देशिकाहरू,’ सहप्रशासकीय अधिकृत रामशरण बोहराले ‘युट्युब सामग्रीको प्रवृत्ति र व्यवस्थापनमा काउन्सिलको पहलकदमी’ तथा अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले ‘युट्युबको अवस्था र आगामी पहलकदमी’ विषयमा क्रमशः कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा करिब ५० वटा युट्युब च्यानलका सञ्चालक/प्रतिनिधिहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्