काठमाडौं । जिम्बाबे विरुद्धको एक दिवसीय सिरिज श्रीलंकाले जितेको छ । तीन खेलको सिरिज श्रीलंकाले २-० ले आफ्नो पोल्टामा पार्न सफल भयो । पहिलो खेलमा नतिजा निस्किएको थिएन भने दोस्रो खेलमा श्रीलंका २ विकेटले विजयी भएको थियो ।
तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली श्रीलंकाले जिम्बाबेलाई ८ विकेटले पराजित गर्दै सिरिज २-० ले जितेको हो । जिम्बाबेलाई ९६ रनमा अलआउट गरेको श्रीलंकाले ९७ रनको सामान्य लक्ष्य १६.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्न सफल भयो । पानी परेकाले खेल नै २७ ओभरमा झारिएको थियो ।
श्रीलंकालाई जित दिलाउनका लागि कुशल मेन्डिसले नटआउट ६६ रनको अर्धशतकीय पारि खेल्दा सदिरा समरविक्रमाले १४ रन नटआउट बनाए । मेन्डिसले ५१ बल फेस गर्दा १ छक्का र ९ चौका प्रहार गरे । यसैगरी सदिराले १ चौका प्रहार गरेका थिए । सेभोन डेनियलले १२ रन बनाएर आउट भएका थिए । आभिष्का फर्नान्डोले खाता खोलन सकेनन् । जिम्बाबेका रिचार्ड नगर्भ र विलिङटन मासाकादजाले एक एक विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको जिम्बाबेले २२.५ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो । श्रीलंकाका वानेन्दू हसरंगा एक्लैले ७ विकेट लिए । जिम्बाबेका जोलर्ड गुम्बेले सर्वाधिक २९ रन बनाउँदा तकुदाज्वानशे केतानोले १७ रन बनाउँदा ल्यूक जोग्वेले १४ रन बनाए ।
यस्तै, विलिङटन माकसदाले ११ तथा सिकन्दर राजाले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।