काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको एकतर्फी जित निकालेको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो । जवाफमा अफगानिस्तानको टोली २६.२ ओभरमा १०३ रनमा समेटियो ।
पाकिस्तानका लागि शाहजेव खानले शतकीय पारि खेले । उनले १०६ रन बनाउँदा कप्तान साद बागले ५५ रनको अर्धशतकीय पारि खेलेका थिए । यसैगरी रइज उल्लाहले ४६ रन बनाउँदा उविद साहले २२ तथा सयमुल हुसेनले १७ रन जोडे । अफगानिस्तानका खलिल अहमदले ४ विकेट लिँदा बसिर अहमदले २ विकेट हात पारे ।
२८५ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानले कुनै पनि बेला पाकिस्तानमाथि दबाब बनाउन सकेन । अफगानिस्तानका नुमान साहले २६ रन बनाउँदा रहिमुल्लाह जुर्माटी र सोएल खानले २०-२० रन बनाए । हुसेन इसाखिलले १९ रन बनाउनु बाहेक अरुले विर्सन लायक प्रदर्शन गरे । पाकिस्तानका उविज साहले सर्वाधिक ४ विकेट लिँदा मोहम्द जेसनले ३ विकेट हात पारे ।
जितसँगै पाकिस्तानले समूह डीमा २ अंक बनाएको छ । यो समूहमा नेपाल पनि रहेको छ । नेपालले आइतबार न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ ।