काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेटमा इंग्ल्याण्डले विजयी सुरुआत गरेको छ ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४९.२ ओभरमा सवै विकेट गुमाएर जम्मा १७४ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले २६.२ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । पहिला ब्याटिङ गर्दा स्कटल्याण्डका कप्तान ओवेन गोल्डले सर्वाधिक ४८ रन बनाएका थिए । ओपनर जेमी डंकले ४० रन बनाउँदा लोगन ब्रिगसले १८ रनको पारि खेले ।
यसैगरी म्याकनेजी जोन्सले १३ तथा उजर अहमदले १२ रन बनाएका थिए । इंग्ल्याण्डका फरहान अहमद र ल्यूक बेंकेस्टेनले तीन तीन विकेट लिँदा सेविस्टेन मोर्गान, डोमोनिक केलि र जेयदन डेन्लेले एक एक विकेट हात पारे । १७५ रनको सामान्य लक्ष्यसहित मैदानमा उत्रिएको इंग्ल्याण्डलाई जिताउन कप्तान बेन म्याकेनीले ८८ रनको पारि खेल्दा जेयदन डेन्लेले ४० रन बनाए ।
यसैगरी हम्जा शेख ६ तथा ल्यूकले ११ रनको नटआउट पारि खेले । स्कटल्याण्डका इब्राहिम फैजलले २ तथा एडी हेजले एक विकेट हात पारे । जितसँगै समूह बी मा इंग्ल्याण्डले २ अंक जोडेको छ ।