विराटनगर । इलाम सदरमुकाममा जारी इलाम गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आज मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पाँचथर फुटबल क्लबले बुटबलको लुम्बिनी फुटबल क्लबलाई पराजित गर्यो ।
पाँचथरले टाइब्रेकरमा लुम्बिनीलाई ३ का विरुद्ध ४ गोलले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
खेलको चौथो मिनेटमा पाँचथरका रोशन लिम्बूले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा बुटबलका विदेशी खेलाडीले पाँचथरविरुद्ध गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
पाँचथरका खेलाडीले ३८औं मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफमा पाँचथर २–१ गोलान्तरले अघि रह्यो । दोस्रो हाफमा बुटबलका माटिन्सले फ्रिकिकबाट गोल गरे । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
आजको खेलको म्यान अफ दि म्याच पाँचथरका रोशन लिम्बू बने ।
विजेता पाँचथरले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ । आयोजक रेडहर्स फुटबल क्लब र एनआरटीको सेमिफाइनल भिडन्त भोलि बुधबार हुनेछ ।
माघ १३ गते हुने प्रतियोगिताको फाइनल विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।