सुजता लिम्बू
विराटनगर । जब विराटनगरमा कोशी प्रदेश पुनः नामाकरणको माग राख्दै आन्दोलन सुरु हुन्छ, पत्रकार भएको नाताले म त्यहाँ पुग्ने गर्दछु, तब आफ्नै सहकर्मीले भन्ने गर्थे ‘उ पहिचानवादी आयो, खै आज लिम्बूको ड्रेस लगाएको ?’
पहिचानको आन्दोलनमा आएकाहरूले आफ्नै भेषभुषामा सजिएर आएका हुन्छन् । हतारिएको साहित्य भनाईसँग नजिक रहेको पत्रकारिता पेशाअन्तर्गतको रिपोर्टिङका क्रममा आफूलाई सजिलो तथा छिटो छरितो हुने कपडा लगाएर आउँदा यस्ता खालको अभिव्यक्ति पछिल्लो समय मैले बेहोर्दै आएको थिए ।
हुन त कहिलेकाँही यी कुराहरू मलाई समान्य नै लाग्थ्यो । साथीहरूले मजाक गरेका होलान जस्तो लाथ्यो र हाँसेरै उडाइदिने गर्दथिए ।
तर, विस्तारै सँधैको त्यही अभिव्यक्तिले मेरो अस्तित्व, मेरो पहिचानमाथि होच्याएकोे, हेपेको जस्तै महसुस हुन थाल्दै गयो ।
आफ्नो साथी सर्कलमा बेलामौका जिस्काउनु फरक कुरा हुँदो हो तर संवेदनशिल स्थानमा समेत ‘मजाक’ गर्दा एक खालको हिंसा बेहोरेजस्तो अनुभुति हुन थालेको थियो । पेशाले पत्रकार, समाचार संकलन गर्न कै लागि कहिले सदन त कहिले सडक पुग्नै पर्ने हुन्छ जहाँ गयो त्यहीँ मेरो जात र अनुहारलाई देखेर गिज्याउनु खासै शोभा दिएजस्तो लागेन ।
हो, पछिल्लो समय फागनु १७ गते, तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको नामाकरणको माग राख्दै उत्रिएको सडक आन्दोलनलाई भावनात्मक हिसाबले समर्थन छ । तर, आन्दोलन एउटा पाटो रहयो पेशा पहिलो प्राथमिकताभित्र पर्छ । म एक श्रमजीवि पत्रकार भएकाले पनि आन्दोलन र त्यहाँ भेटिएका पात्रलाई समाचारमा समेट्नु मेरो पेशाप्रतिको जिम्मेवारी पनि हो ।
एउटै मैदानको सोँच कति फरक पेशागत धर्म र जिम्मेवारी बोकेर म मैदानमा हुँदा मेरो अनुहारलाई आन्दोलनकारी देख्नु, पहिचान र सभ्यताको आधारमा नाम राख्दै गर्दा यो भूगोलमा बसोबास गर्ने सबै जातजाति र समुदायको सम्बन्ध माटोसँग जोडिएको हुँदो हो नि होइन ?
सभ्यता र माटोसँग जोडिएको मुद्दा आँखा चिम्रो र नाक थेप्चोको मात्रै होइन होला नि ? तर, प्रदेशको नामका विषयमा भएको विरोध र आन्दोलनको मारमा अनुहार हेरेर गर्ने व्यावहार साथीभाई बीचको खिसिटियुरीसँगै पछिल्लो समय राज्यले गरेको व्यवाहारप्रति खेद व्यक्त गर्न मन लाग्छ ।
यी त भए, मेरै सहकर्मी र सहपाठीले गर्ने विभेद । आन्दोलन चलिरहेकै बेला विराटनगरको मैदानमा मेरो अनुहार देखेर प्रशासनले गर्ने विभेद पनि कम थिएन । म थोरै जेठ १४ गतेको घटनालाई स्मरण गर्न चाहान्छु । अन्य समयभन्दा त्यो दिनको माहोल निक्कै फरक थियो । कोशी प्रदेशसभाको बैठक आव्हान गरिएकाले बिहानैदेखि प्रदेशसभा भवन आसपास सुरक्षा व्यवस्था कडाइ गरिएको थियो ।
त्यही दिन पचिानपक्षधरले प्रदेशसभा घेराउ गर्ने कार्यक्रम समेत रहेकाले म पनि बिहानको ८ बजेतिर सोही स्थानमा रिपोर्टिङका लागि पुगेँको थिए ।
बिहानै झण्डै २३ जनाजति आन्दोलन पक्षधर प्रहरीले पक्राउ गरिसकेका थिए । त्यो मेरो लागि समाचारको इस्यु बन्ने भएकाले मैले मोबाइलमा समाचार टाइप गर्दै कार्यालयको ग्रुरुपमा पठाइरहेकी थिएँ ।
त्यो दिन खोजीखोजी आन्दोलन पक्षधरलाई प्रहरीले पक्राउ गर्न सुरु गरेपछि आन्दोलन पक्षधर मैदानबाट ‘व्याक’ हुन्छन् होला या पुनः आउछन् ? भन्ने प्रश्न पनि समाचारको एउटा एंगल त बन्ने भइ नै गयो । त्यही सोचेर वरपरको माहोलको तस्वीर कैद गर्दै मैले मोबाइलमा टाइप सुरु गरे ।
पछाडीबाट रुखो आवाज आयो -‘तपाई पत्रकार हो ? पत्रकार हो भने तपाई ड्रेस लगाएर आउनुस् ।’
पछाडी फर्किएर हेर्दा नेपाल प्रहरीको हवल्दार हुनुहुँदो रहेछ । मैले त्यो विषयलाई समान्य नै लिए । त्यसो त प्रहरीको बर्दीभित्रको पीडा कसले नबुझेको होला र ? विराटनगरको तातो घाम, भोको पेट, बाक्लो लुगा त्यो पीडालाई बुझेर नै मौन बस्न मन लागेको थियो तर, पनि जवाफ फर्काए । ड्रेस नलगाएका अन्य पत्रकार पनि थिए, उनीहरूजस्तै मैले पनि पत्रकारको परिचयपत्र गलामा भिरेकी थिएँ । मोवाइलले क्यामेरा, डायरी र कलमको काम गर्ने भएकोले उही मोवाइल हातमा थियो । सहपाठीसँग फरक भने मेरो अनुहार थियो ।
‘राम्रोसँग भन्नुभए भइहाल्थ्यो नि ? प्रहरीले झर्किनु नै पर्छ भन्ने छ र ?’
मैले जवाफमा फर्काएको शब्द यही थियो । सँगै उभिएका साथीहरूले पनि नबोल्न आग्रह गरेपछि म मौन भए । भिडभाड र आन्दोलनमा लगाइने मेरो कार्यालयले दिएको हरियो प्रेस ज्याकेट त थियो हतारमा भुलेकाले कार्यालयको आईडि कार्डले हुन्छ भन्ने लाग्यो । किनभने अन्य समय पनि कार्ड मात्रै लगाएर निरन्तर रिपोर्टिङ गरिनै रहेकी थिएँ । कुनै असहज परिस्थिति र दुव्र्यवहार बेहोरेकी थिइनँ । त्यो दिन प्रहरीहरुले म तर, बिहानदेखि बारम्बार प्रहरीको गाली र टार्गेटमा पर्नु मेरो अनुहारको दोष थियो या साँच्चै मैले ‘हरियो ज्याकेट’ (प्रेस लेखिएको ज्याकेट) नलगाउनु मेरो गल्ति थियो । कन्फ्युज छु ।