काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब नेपाल पुलिसले लगातार छैटौं जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशमाथि ६ विकेटको फराकिलो जित निकालेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले ४२.५ ओभरमा सवै विकेट गुमाएर १७१ रन बनाउन सक्यो । जवाफमा पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो । पहिला ब्याटिङ गर्दा कर्णालीको सुरुआत भने उत्कृष्ट रहेको थियो । ओपनिङ जोडीले ६३ रनको साझेदारी गर्दै अघि बढाएका थिए।
ओपनिङ आएका कप्तान रविन्द्र शाहीले ४० रनको पारि खेल्दा अर्का ओपनर निश्चल रावल ५० रनको अर्धशतकीय पारि खेल्दै रनआउटको शिकार बने ।
त्यसपछि अर्जुन घर्तीले २३ रन बनाउँदा दिवान पुनले २० रन जोडे । अरु व्याटर चल्न नसक्दा कर्णाली अन्ततः ४२.५ ओभरमा १७१ रनमा समेटियो ।
पुलिसका सागर ढकालले ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट हात पारे । यस्तै, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले एक एक विकेट लिए ।
१७२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको पुलिसले सजहै जिन निकाल्न सफल भयो । पुलिसका ओपनर दिलिप नाथले नटआउट ७५ रन बनाउँदा कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन जोड्दा आरिफ शेख ९ रनमा आउट भए । अर्जुन साउद २ रनमा नटआउट हरँदा अमित श्रेष्ठले १ रन बनाए । कर्णालीका प्रकाश जैसीले २ विकेट लिँदा दिवान पुन र दीपेन्द्र रावतले एक एक विकेट लिए ।
लगातार छैटौं जित निकालेको पुलिस १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । पराजित भएको कर्णाली प्रदेश भने ७ खेलबाट ६ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।