विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारकाे घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । उनले जस्ताकाे छानासहितकाे घर निर्माणका लागि श्रमदान गरेका हुन् ।
घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छाेराछाेरी र राई दम्पती गरी पाँच जना परिवारका सदस्य एउटै सानाे झुपडीमा बस्नु पर्ने बाध्यताकाे अन्त्य भएकाे छ । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् । राईकाे घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद याेगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरीब, दलित, सुकुम्वासीकाे समेत भएकाेले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेकाे बताएका हुन् । ´विपन्न गरीवलाई सरकारकाे अनुभूति गराउनुका साथै निर्वाचनकाे बेलामा गरेकाे वाचा पूरा गर्नसमेत श्रमदान गरेकाे छु,` उनले भने, ´गरीबका दुःख समाजका सबैले बुझेर एकअर्कालाई पारिस्परिक सहयाेगकाे भावना समाजिक सञ्जालमा रमाउने अहिलेका युवाहरूमा विकास गराउनका लागि पनि काम गरेकाे हुँ ।`