विराटनगर । देशभरिका थारु समुदायका प्रतिनिधि सुनसरीमा भेला हुने भएको छ । आगामी माघ २६ र २७ गते सुनसरीमा हुने ८औं राष्ट्रिय थारू सम्मेलनको अवसरमा थारु समुदायको प्रतिनिधि भेला हुने भएका हुन् ।
हौली परिवार सुनसरी, मोरङ र थारू लेखक संघ नेपालको आयोजनामा सुनसरीको गढी गाउँपालिका–२ स्थित गढीथानमा सम्मेलन आयोजना हुने भएको हो।
सम्मेलनमा देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए ।
सम्मेलनको नेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटन समारोहमा एक हजारभन्दा बढी थारू समुदायको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा थारू समुदायको पुस्तक विमोचन, थारू भाषा साहित्यका लेखक तथा महिला सशक्तिकरणको अभियानतालाई सम्मान गर्ने कार्यक्रम छ ।
सम्मेलनमा मानक थारू भाषाको कार्यान्वयन पक्षबारे कार्यपत्र प्रस्तुत हुनेछ । थारू समुदायको इतिहास, धर्म र संस्कृतिबारेको विज्ञसँग छलफल हुने जनाइएको छ ।
२०७८ को जनगणनाअनुसार नेपालमा १८ लाखको हाराहारीमा थारू समुदायको बसोबास छ ।