पशुपालनबाट स्वदेशमै आम्दानी बढाउँदै स्वास्थ्यकर्मी काेइराला

<span class='c1'>पशुपालनबाट स्वदेशमै आम्दानी</span> <span class='c2'>बढाउँदै स्वास्थ्यकर्मी काेइराला</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका १ पचामस्थित डाँगीटाेलका कृषक प्रमाेद काेइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर स्वदेशमै उद्यमीमा आफूलाई चिनाउन सफल भएका छन् ।

उनी सुन्दरहरैँचा १० मा रहेको सुकुना सामुदायिक हस्पिटलकाे स्वास्थ्य सहायक पदमा समेत कार्यरत छन् । काेइराला विगत २५ वर्षदेखि स्वास्थ्य सेवाकाे क्षेत्रमा काम गर्दै आएका छन् । विगत ६ वर्षदेखि पशुपालनमा लागेका उनी अहिले घरपरिवारका सदस्यसहित यो पेसालाई निरन्तरता दिँदै छन्। काेइरालाले दिप्सन कृषि फार्म दर्ता गरेर हाल सानाठूला गरि १९ वटा गाई पालन गरेका छन् ।

उनले आफ्नाे पशुपालन व्यवसायबाट एक घरकाे परिवारलाई स्थायी रूपमा राेजगारी प्रदान गरेका छन् ।`पशुपालन व्यवसायबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छु ` काेइरालाले भने ``वि.सं २०७५ मा फार्म दर्ता गरी व्यावसायिक रूपमा गाई पालनको सुरूवात गरेको थिएँ ।”

काेइरालाले सुरूमा १ लाख रुपैयाँको लागतमा दुईवटा उन्नत जातको गाई र २ वटा बाेका खरिद गरी पशुपालन थालेको जानकारी दिए।
उनका अनुसार अहिले फार्ममा गाई तथा बाच्छाबाच्छी गरि १९ चाैयापा छन् । तीमध्ये ८ माउ गाई दुहुना छन् । गाईले दैनिक ७० लिटरसम्म दुध दिने गरेको भन्दै उक्त दुधलाई इन्द्रपुर दुग्ध सहकारीमा बिक्रीका लागि लग्ने गरिएको काेइरालाले उल्लेख गरे । यहाँ दुध बिक्रीका लागि बजारमा कुनै समस्या नरहेको काेइरालाले उल्लेख गर्दै सुन्दरहरैँचामा अहिले दुध प्रतिलिटर रू ८० र दही रू एक सयमा बिक्री हुने गरेको जानकारी दिए ।

गाईपालन गरे पछि गाउँका स्थानीय लगायत आफुले पनि शुद्व दुधदहि खान पाएकाे काेइरालाकाे भनाइ रहेको छ । १ लाखको लगानीबाट शुरू गरेको काेइरालाकाे फार्ममा अहिले ५० लाखकाे लगानी पुगेको छ । पशुपालनकाे आम्दानीबाटै याे लगानी बढाउँन सफल भएको उनको भनाइ रहेको छ । काेइरालाले पशुपालन व्यवसायलाई थप मजबुत बनाउँन २ सय वटा लाेकल कुखुरा तथा १२ वटा खसीबाख्रा पालन समेत गरेका छन् । उनले दुग्धजन्य पदार्थ , कुखुरा, मल र अन्न बिक्रीबाट आम्दानी गर्न सफल भएको बताए ।

आफु विगत लामाे समयदेखि स्वास्थ्यकाे क्षेत्रमा कार्यरत रहे पनि पशुपालनबाट स्वरोजगार सृजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि व्यवसाय सुरू गरेको काेइरालाले सुनाए ।`` धेरै युवा जीविको पार्जनका लागि विदेसिन थालेकाेले यसकाे अन्य हुनु जरूरी छ ´´ काेइरालाले भने `` स्वदेशमै मन लगाएर पशुपालन गर्न सके प्रशस्त आम्दानी गर्न सकिन्छ ।´´समयको व्यवस्थापन आफूले काम गर्ने हस्पिटल घरदेखि नजिकै रहेकाले बिहान बेलुकाकाे समय मिलाएर तथा बिदाको दिनमा पशुपालनमा रमाउने गरेको काेइराला बताउछन । परिवारका सदस्यले समेत उनको यस कामलाई सघाएका छन् ।

काेइरालाले डेड बिघा आफ्नै जग्गामा फार्म सञ्चालन गरेका छन् । पशुपालनका लागि घाँस, पराल आफ्नै जग्गाबाट उत्पादन गर्ने गरेको काेइरालाको भनाइ रहेको छ । अहिलेसम्म सरकारी निकायबाट गाेठ सुधारकाे लागि समान्य सहयाेग पाएकाे तथा पाउँनु पर्ने खालकाे सहयाेग र अनुदान कतैबाट नपाएको काेइरालाले उल्लेख गरे ।

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भन्दै काेइरालाले अहिले फार्ममा विभिन्न ठाउँबाट पशुपालन अवलोकन गर्न, वस्तु तथा पशुचौपाया खरिदका लागि मानिस आउँने गरेकाे सुनाए ।

पशुपालन र कृषि पेशाबाट आम्दानी गरि परिचित भएका काेइरालाले गाेबर ग्याँस जडान गरि खाना पकाउँने तथा लेदाेमलबाट कृषि उत्पादन बढाउँन सफल भएका छन् । पढेलेखेका युवा पैसा कमाउन वा जागिर खान विदेश नै जानुपर्छ भन्ने छैन स्थानीयस्तरमा स्वरोजगार सृजना गर्न सकिने उनको सुझाव रहेको छ । उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गरेमा किसानलाई बजारीकरणमा सहजता हुनुका साथै हौसला मिल्ने काेइरालाकाे अनुभव रहेको छ । युवालाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राज्यले सञ्चालन गरि असली कृषकलाई सरल रूपमा ऋणपानकाे व्यवस्था र अनुदानकाे सुविधा हुनुपर्ने काेइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्