पोखरा । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा केन्याका धावकहरुले वर्चस्व राखेका छन् । शनिबार सम्पन्न म्याराथनको पहिलो, दोस्रो र तेस्रोको पुरस्कार केन्याका धावकले जितेका हुन् ।
अग्रज खेलाडीहरुको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुलातर्फ पहिलो भएका जुलियस मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोस्रो भए ।
त्यस्तै केन्या धावक इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दुरी पार गरी तेस्रो भए । किप्लीगाट १७ औं सस्करणका विजेता थिए । त्यस्तै नेपाली धावक किरणसिंह बोगटी चौथो स्थानमा रहे । उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे ।
पहिलो भएका जुलियसले नगद ५ लाख, इसाक किहाराले ३ लाख, तेस्रो भएका इडविनले २ लाख र चौथो भएका किरण बोगटीले ३० हजार नगद प्राप्त गरे।
त्यस्तै गण्डकी प्रदेशतर्फ सफल लामा, देवप्रसाद जलारी र मनोज अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
महिला २१ किमितर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गरिन् । उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै नगद १ लाख ५० हजार प्राप्त गरिन् । २१ किमि महिलातर्फ केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो हुँदा राममाया बूढा १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तेस्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गरेकी फूलमती राना चौथो भइन् ।
यस्तै पुरुष १० किमि दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गरी टंकबहादुर कार्की पहिलो, सुवास कार्की दोस्रो हुँदा ३२ मिनेट ३७ सेकेण्ड लगाए भने तेस्रो भएका सन्जीव नेपालीले ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गरे ।
महिला १० किमि दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी सीमा चौधरी दोस्रो र ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै नम्रता गुरुङ तेस्रो भएका छन् ।
५ किमि छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तेस्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गीता श्रेष्ठ दोस्रो र एन्जीला जिटी तेस्रो भइन् ।
५ किमि भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, निमबहादुर थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णुकुमारी गुरुङ र चेतमाया पगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।