विराटनगर । विराटनगर महानगरपालिकाले गत माघ ४ गते बरगाछी–रानी अन्तर्गत कोशी राजमार्गको ‘मेडियन स्ट्रिप्स’ फूल तथा जरा कम जाने बिरुवा रोप्ने निर्णय गरेको थियो । संघीय सडक अन्तर्गत स्थानीय तहले आफ्नो बजार क्षेत्रमा सौन्दर्यकरण गर्ने निर्णय यो पहिलो भने हैन । यस अगाडी समेत संविधान दिवसको अवसर पारेर रोपिएका बिरुवा सुकिसकेका छन् । त्यसको संरक्षण नहुँदा महानगरपालिकाको पैसा बिरुवासँगै सुकेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्था र व्यापारिक र सामाजिक संघसंस्थासँगको सहकार्यमा सौन्दर्यकरण गर्ने योजनाका लागि छलफल भएको थियो । त्यसको कार्यान्वयनका लागि बैंकर्स एशोसिएसनका अध्यक्ष सन्तोष बुढाथोकीलाई संयोजकको जिम्मेवारी दिइएको थियो । बरगाछीदेखि रानीसम्म क्रससेक्सनले छुट्याएका ४६ मेडियन स्ट्रिप्स छन् जसमा साना बुट्यान जातका बिरुवा र फूल एकै प्रकारका लगाउने भनिएको थियो । त्यसका लागि माघ १५ गते भित्र सौन्दर्यकरण खाका, खर्च दिर्घकालिक संरक्षणसहितको प्रतिवेदन तयार पार्ने तोकिएको थियो ।
महानगरको सरसफाई तथा वातावरण शाखाका प्रमुख पुनम दाहाल, नगर प्रहरी प्रमुख राजन पौडेल र वातावरण शाखाकी इन्जिनियर सुदीक्षा कार्कीलाई सहजीकरण गर्ने जिम्मेवारी दिएपछि प्रतिवेदन तयार भईसकेको छ । शाखा प्रमुख दाहालका अनुसार ६१ लाख रुपैँया लागतमा बरगाछीदेखि रानीसम्मको मेडियन स्ट्रिप्समा विरुवा तथा फूल रोपिने छ । जसमा एकवर्षको संरक्षण लागत समेत समावेश भएको छ ।
छ लेन सडक आयोजनाले विस्तार गरेको रानी–धरान खण्ड सडक डिभिजन कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्दछ । स्थानीय तहले यस भित्र कुनैपनि संरचना बनाउन वा लगानी गर्न सडक विभागसँग स्वीकृत अनिवार्य लिनुपर्दछ । विराटनगर महानगरपालिकाले मेडियन स्ट्रिप्स क्षेत्रलाई तारजालीले घेराबेरा गरेर बिरुवा तथा फूल रोप्ने कुरामा सडकले असहमति जनाएको छ । सडक डिभिजनका इन्जिनियर सन्तोष कापरले संघीय सडकको मेडियन स्ट्रिप्समा ग्रिनबेल्ट एरिया जस्तो बिरुवा रोप्न नपाइने बताउँछन् ।
सडक डिभिजनका इन्जिनियरहरु बिराटनगर बजार क्षेत्रमा ग्रिनबेल्ट एरिया राख्न नदिएका कारण मेडियन स्ट्रिप्स मात्रै राख्नुपर्ने बाध्यता परेको बताउँछन् । छ फिट क्षेत्रको ग्रिनबेल्ट एरिया छोड्नका लागि तोकिएको सडक सीमा जग्गा उपलब्ध नहुँदा अढाई फिटको मेडियन स्ट्रिप्स मात्रै छोडिएको हो । त्यसमा घाँस रोपेर माटो संरक्षण बाहेक अर्को कुनै बिरुवा लगाउन पाइदैन ।
तर, महानगरपालिकाका सरसफाई तथा वातावरण शाखाका प्रमुख दाहाल सडकलाई असर नपर्ने गरि फूल र साना बुट्यान लगाउने तयारी भईरहेको बताउँछन् । उनले अब रोपिने बिरुवा तथा फूलको संरक्षण सुनिश्चित गरिने दावी गरे । सौन्दर्यकरणका लागि तयार प्रतिवेदन छलफलका क्रममा रहेकोले कार्यन्वयनको चरणमा लैजाने उनले बताए ।
भाटभटेनी सुपरमार्केटले २ र पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठबाट ३ वटा मेडियनको सौन्दर्यकरण गर्ने प्रतिबद्धता आएको दावी छ । बाँकी भागका लागि महानगरपालिकाले बनाएको समितिले काम गर्नेछ । तारजाली लगाएर मेडियन स्ट्रिप्स क्षेत्रलाई घेरा हालिने र त्यहाँ भित्र साना बुट्यान हुने बिरुवा र फूल रोपिने बताइएको छ । नेपाल उद्योग परिसंघले बरगाछीमा रहेको आफ्नो कार्यालय अगाडी एउटा मेडियन क्षेत्रमा फूल रोपेको छ ।