‘एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन खोइ ?’

‘एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन खोइ ?’

काठमाडौं । संसदमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एनसेल प्रकरण बारे छानबिन गरी प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद अर्जुननरसिंह केसीले जोड दिए ।

शून्य समयमा बोलेका केसीले छानवीन समितिले बुझाएको प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम गर्न नहुने भन्दै त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्ने बताए । उनले प्रतिवेदन सार्वजनिक गरेर संसदमै छलफल गर्नुपर्ने माग गरे । केसीले भने, ‘नेपालको इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो प्रतिवेदनलाई केवल पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ । यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ । संसदमा सामूहिक रुपमा छलफल गर्नुपर्छ ।’

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले पनि एनसेल प्रकरणको प्रतिवेदनको खोजी गरे । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अवरोध गरेका प्रतिपक्षीले विशेष समयमा बोल्ने क्रममा लामिछानेले भने, ‘आजिकाटाको रिपोर्ट खोई ? एनसेल खरिद बिक्रीको विषयलाई लिएर संसद र सडक तात्यो । खोई, यो विषयमा हामीले चर्चा गर्न पाएको ?’ गत माघ १४ गते एनसेलको सेयर खरिद बिक्री अध्ययन तथा छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको एक महिना भएको छ ।

यस्तै, संसद्को सार्वजनिक लेखा समितिले पनि यसअघि नै एनसेलको सेयर खरिद बिक्रीको छानबिन प्रतिवेदन गोप्य राख्नुपर्ने कारण नभएको भन्दै सार्वजनिक गर्न निर्देशन नै दिइसकेको छ ।
पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजक रहेको छानवीन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो । तर, उक्त प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन् ।

एनसेलको विदेशी लगानीकर्ता आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई बिक्री कारोबार विवादित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्