विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा कोल्ड स्टोर निर्माण हुने भएको छ । करिब १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्न लागिएको हो ।
प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ लागतमा उक्त कोल्ड स्टोर निर्माण गर्न लागेको छ । कोल्ड स्टोर निमार्ण गर्नको लागि परियोजना इकाइ र कटहरी गाउँपालिकाबीच बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा पहिलो पक्षबाट परियोजना कार्यान्वयन इकाका प्रमुख मनोज कुमार यादव र दोस्रो पक्षको तर्फबाट कटहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साहले हस्ताक्षर गरेका छन् ।
कोल्ड स्टोर निर्माणको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहोर्ने सहमति भएको छ । जस अनुसार परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले ४ लाख ८५ हजार ३५२ रुपैयाँ व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
कोल्ड स्टोर निर्माण भएर संचालनमा आएपछि कृषकको उत्पादन खेर नजाउने कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए ।
परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषी जोन क्षेत्र घोषणा गरेको छ । कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८ सय हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएको छ । उक्त जोनबाट उत्पादन भएको वस्तु बिक्री वितरण गर्नको लागि कोल्ड स्टोर निर्माणको लागि परियोजनाले गत मंसिर १३ गते सूचना जारी गरेको थियो । १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरमा ३ वटा कोठा हुनेछ ।