इन्दु साह
विराटनगर । विराटनगर–९ को जामा मस्जिदको एकसय वर्ष अगाडी स्थापना भएको थियो । विराटनगरमा मुस्लिम समुदाय बढ्दै गएको तर नमाज पढ्ने ठाउँ नहुँदा जामा मस्जिद निर्माण भएको थियो । १८ धुर जग्गामा मुस्लिम समुदायभित्रबाट रकम संकलन गरेर मस्जिद बनाइएको थियो । पुरानो मस्जिद भएकोले रमजान इस्लाम धर्मावलम्बीहरूको जामा मस्जिदमा भीड लाग्छ । रमजान महिना मुसलमानका लागि शुभ–लाभको महिना हो।
रमजान त्यो महिना हो जसमा इस्लामको पवित्र ग्रन्थ कुरान पैगम्बर मुहम्मद (PBUH) लाई ६१० मा परी जिब्रिल (गेब्रिएल) मार्फत अवतरण गरिएको थियो। प्रकाशको समयलाई विशेष महत्त्व दिइन्छ र यसलाई लैलातुल कदर भनिन्छ वा शक्तिको रात।
कुरानको प्रकटीकरणको स्मरण गर्न, मुस्लिमहरू रमजानको महिनामा उपवास बस्छन् - ईश्वरसँग बलियो सम्बन्ध निर्माण गरेर आध्यात्मिकतामा बढ्नको लक्ष्य। तिनीहरूले यो उपवास, प्रार्थना, कुरानको पठन, आफ्नो कार्यलाई उद्देश्यपूर्ण र नि:स्वार्थ बनाउने, साथै झूट बोल्ने, गफ र झगडाबाट टाढा राखेर गर्छन्।
कुरानले धेरै ठूलो स्थान दिएका कारण एक महिनासम्म मनाइने यो चाडमा १२ वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्ने गर्दछन् ।
इस्लाम धर्मका आस्थावान् मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य हुन्छन्। जसमा विश्वासको पेश (साहदा),प्रार्थना (नमाज),भिक्षा (जकात)
उपवास (रोजा) र तीर्थयात्रा (हज) हुन् । यी नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने मान्यता छ । जसका लागि घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सेहेरी (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । जुन समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा आ–आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने प्रचलन छ । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्ने मान्यता छ ।
जामा मस्जिद अतर्गत अन्जुमन ईस्लामियाका सचिव तनविर कुरेशी रमजान अवधिभरीको महिनालाई एक पवित्र महिनाका रुपमा लिइने हुनाले यसलाई कठिनपूर्वक भएपनि पुरा गरिने गरिन्छ । अन्जुमन ईस्लामिया जामा मस्जिदका अध्यक्ष ७८ वर्षीय मोहम्मद कलिमुल्ला खान आफ्नो व्यापार, काम धन्दा छोडेर पनि यसलाई अंगाल्नुपर्ने बताउँछन् । उनी भन्छन् हामी यहाँ नमाज र अजान गर्छौ । मुस्लिम समुदायबाट उठेको डोनेशनले मस्जिद पुन निर्माणको काम गर्ने गरिएको उनको भनाई छ । विराटनगरकै ठूलो मस्जिद भएकोले यहाँ दैनिक २०० भन्दा बढी धर्मानुरागीले नमाज पढ्ने गरेको उनले जानकारी दिए ।
नमाज सकेर मस्जिद छेउमा भेटिएका नेपाल मुस्लिम संघका केन्द्रीय सचिव मोहम्मद अफ्जल हुसेनका अनुसार रोजा बस्नुको मुख्य उद्देश्य ईश्वरको आदेश पालन गर्नु हो । भोकोबस्दा खान नपाउने निमुखाको पिडा बुझिने भएकोले यो पर्वको महत्व धेरै रहेको हुसेनको भनाई छ ।
रोजा अवधिभर नियमित नमाज पढ्छन् भने रातिको नमाजपछि मस्जिदमा तरावीको नमाज पढ्ने गरिन्छ । तरावीको नमाज मुसलमानहरूको विशेष प्रार्थना हो । नमाज २० रिकातको हुन्छ, जसमा इस्लामी ग्रन्थ कुरानको अक्षरसः पढनुपर्छ ।
रोजाको समयमा गरीब, दीनदुखीहरूलाई दान गर्नुपर्ने मान्यता यो धर्ममा रहेको छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ । यसमा कसैले कम, कसैले बढी भने हुँदैन । रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ । यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि इदको नमाज पढ्नुभन्दा पहिले फित्तरा निकाल्नु पर्छ । जुन जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम बराबर हुने मान्यता छ । यसरी निकालिएको रकम गरीब दीनदुःखीहरूलाई बाँड्नुका साथै फित्तरा र जकात मुसलमानहरूको पाठशाला (मदरशा) सञ्चालनमा प्रयोग गरिन्छ ।
विराटनगरमा २७ वटा मस्जिद रहेका छन् ।