इलामको कर्फोकमा नेपथ्य लाइभ कन्सर्टको तयारी पूरा

इलामको कर्फोकमा नेपथ्य लाइभ कन्सर्टको तयारी पूरा

विराटनगर । चर्चित सांगीतिक समूह नेपथ्यले भोलि शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपथ्यले जनाएको छ ।

इलामको सूर्याेदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिन लागेको हो ।

कार्यक्रमका लागि नेपथ्यको कलाकार, प्राविधिक र व्यवस्थापकहरुको टोली पुगिसकेको छ ।

कार्यक्रमस्थलमा मञ्च बनाउने, साउण्ड सिस्टम र प्रकाश जडानको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ गुम्बा समितिको आयोजनामा कार्यक्रम गरिने पत्रकार सम्मेलन आयोजना गरी आयोजकले जानकारी दिएको छ ।

‘न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ हामीले कार्यक्रम आयोजन गर्न लागेका हौं’ कार्यक्रम आयोजक न्युपी थर्पा छोलिङ गुम्बाका हरि गुरुङले भने, ‘संगीतका माध्यमबाट समेत इलाममा पर्यटन विकास गर्न सकिन्छ भन्ने विश्वास छ ।’

कार्यक्रमका लागि अनलाइन र मास टिकट बिक्री धमाधम भइरहेको गुरुङले बताए । टिकटको मूल्य एक हजार एक सय कायम गरिएको उनले बताए । करिब पाँच हजार दर्शकले टिकट काटेर कार्यक्रम हेर्ने आयोजकको अपेक्षा छ ।

नेपथ्यको सांगीतिक प्रस्तुतिमा सहभागी हुन इलामसहित पाँचथर, ताप्लेजुङ, झापा र सीमावर्ती दार्जिलिङबाट पनि दर्शक, स्रोता आउने जनाइएको छ ।

कार्यक्रममा नेपथ्यका अगुवा कलाकार अमृत गुरुङलगायत कलाकार, बाद्यवादक एवं प्राविधिकहरुको सहभागिता रहने छ । नेपथ्यले आफ्ना नयाँ पुराना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शक, स्रोतालाई मनोरन्जन गराउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्