सुजता लिम्बु
विराटनगर । विराटनगरको हाईवे पूर्व सिंघिया र पश्चिममा केशलियाले शहरलाई घेरेर बग्ने गर्दछन् । सिंघिया केशलिया शहरको सौन्दर्यका स्रोत हुन् । शहरलाई भित्रका नदीको महत्व त्यहाँका वासिन्दासँग जोडिएको हुन्छ । नदीसँग जीविका मात्रै नभई मानव सभ्यताको प्रारम्भको हिसाबले समेत जोडिन्छ । दुई नदीको अवस्थामा बिग्रदो छ । शहरको बढ्दो जनघनत्व र त्यसको व्यवस्थापन अभाव हुँदा मार खेप्नु परिरहेका नदीहरुको बिजोग छ ।
त्यो बिजोग अवस्थासँगै सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखा नहरले समेत यहाँ पानीको स्रोत र सौन्दर्यमा इट्टा थप्दै आएको छ । तर, नदी जस्तै नहर पनि शहरका लागि डम्पिङ साइटमा परिणत भईदियो । यहि डम्पिङसाइट नहरलाई शहरको सौन्दर्यको गहना बनाउने अभियान अहिले अचेत समूह र पाइला परिवर्तनका लागि नामक दुई समूहको पहलमा सरसफाई भईरहेको छ ।
‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उखान झैँ यतिबेला ‘अचेत समूह’ र ‘पाइला परिवर्तनको लागि ’ को संयुक्त आयोजनामा सुरु गरेको नहर सरसफाइ अभियानले वृहतरुप लिएको हो । विराटनगर हाइवे पश्चिमको केन्द्रमा पर्ने यो नहर डम्पिङ साइटमा विकसिक हुँदै गएको थियो । तर, अभियान सुरु भएपनि नहर शहरको सुन्दरताका लागि बदलिदों क्रममा रहेको छ ।
वृहत नहर सरसफाइ अयिभानका संयोजक संजयबाबु शर्माका अनुसार माघ २० गतेबाट सुरु गरिएको सरसफाइ अभियान अहिले ७ औँ हप्तामा छ । प्रत्येक शनिबार बिहान ८ बजेदेखि नहर सरसफाइ अभियानको सुरुवात हुन्छ ।
सुरुवातको दिनहरुमा पाइला परिवर्तनको साथ पाएको अचेत समूहलाई अहिले राष्ट्रिय सनातन सेवक, लिबर्टी नेपाल, स्काउट, लियो, कबाडी डटकम, पोखरीया स्कुल, आदर्श, पुसेट जस्ता शैक्षिक संस्थाले पनि सहयोग गरिरहेका छन् । जसको सन्देश विद्यार्थीमार्फत अभिभावकसम्म पनि पुगिरहेको छ । नदी, तलाव वा पानी वहने नहर शहरका लागि गहना हुन्, जुन ठाउँमा पानीको वहाव रोक्ने कुनैपनि वस्तु फाल्नु हुन्न ।
अभियानका संयोजक शर्माका अनुसार युवा, समाजसेवी, राजनीतिज्ञ तथा अभियान्ताहरुको पनि निरन्तर सहभागिताले अझै उत्साह थपिरहेको छ । अचेत समूहका अध्यक्ष सविन घिमिरेका अनुसार सकारात्मक कार्यका लागि हातेमालो गर्नेहरुको संख्या दैनिक थपिदो छ । उनका अनुसार अभियानलाई लिलिपुट स्कुलले ६ वटा ठुलो डस्टबिन, म्याजिक लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेसेजले ५ वटा डस्टबिन र नहर सरसफाइ अभियानको क्रममा काम नलाग्ने फलाम विक्री गरेर विराटनगर महानगरपालिकाले १५ वटा सानाठूला डस्टबिन उपलब्ध गराएको छ ।
सरसफाई साझेदारी संस्था नेपाल फुलाबारीले आवश्यक फोहोर बोक्ने टिफर, सरसफाई कर्मचारी दैनिक उपलब्ध गराएर सहयोग गरेको उनको भनाई छ । नोबेल मेडिकल कलेज गेटदेखि एयपोर्ट मोडसम्मको नहरमा सरसफाइ गरिसकेको भएपनि पुनः फोहोर भएकाले पहिलेकै स्थानमा सरसफाइ थालिएको छ । नोबेल मेडिकल कलेज अगाडीको ढल नहरमा आएर मिसिने भएकाले जति सफा गरेपनि त्यो ढलले नहर फोहोर हुने हुँदा त्यो नपुरिन्जेल अगाढी बढ्न गाह्रो हुने भएकाले त्यहाँभन्दा अघि बढ्न नसकेको अध्यक्ष घिमिरको भनाई छ ।
‘निकासका लागि विराटनगर महानगरपालिकाले कुलो बनाउन जग्गा समेत नापिसकेको छ,’ उनले भने,‘ विराटनगर महानगरपालिकाले अहिले नोबेलको माथि पुलचोकमा जाली बनाएर ब्लक राखेको छ, जसले गर्दा ठोस पदार्थ तल बगेर जाँदैन ।’
नहर सफाई अभियानमा विराटनगर महानगरपालिका , विभिन्न संघसंस्था, विद्यालय समाजिक संघ संस्थाहरुको प्रत्यक्ष अप्रत्यक्ष साथ रहेको उनको भनाई छ । विशेष जनसरोकारको विषय र अन्याय विरुद्ध आवाज उठाउदै आइरहेको अचेत समूहले नहर सररफाईमा कुनै विज्ञता नभए पनि यो समूहले यसलाई प्रकृति माथि भएको अन्याय भनेर बुझेको छ ।
सरसफाई शिर्षकमा छुटाइएको बजेटहरुले नहर सरसफाई हुन नसक्नु जनताको करमाथिको अन्याय भएको बताउदै उनीहरुले विराटनगरबासीको स्वस्थ्य बाच्न पाउनुपर्ने अधिकार हनन रहेको भन्ने उनीहरुको बुझाई रहेको बताउँछन् । यसकारण पनि नहर सरसफाइ अभियान प्रकृति माथिको अन्याय विरुद्धको आन्दोलन रहेको अध्यक्ष घिमिरेको भनाई छ ।