सहकारी डुबेपछि बचतका लागि सरकारको सहयोग कुरेर बसेका छन् पीडित

सहकारी डुबेपछि बचतका लागि सरकारको सहयोग कुरेर बसेका छन् पीडित

सुजता लिम्बु
विराटनगर । सहकारी ठगीको मारमा परेको विराटनगर महानगरपालिका– ५ का सन्तोष गुरागाई चियापसल चलाउछन् । उनले दुई वर्ष अगाडि तुलसी बहुमुखी सहकारीमा घरजग्गा बेचेर पैसा जम्मा गरे । राम्रो ब्याज र छोरीलाई अध्ययनका लागि विदेश पठाउने कागजात मिलाउन भनेर उनले सहकारीमा पैसा राखेका रहेछन् ।

गुरागाईंले सुनसरी सीतागञ्जको १० कठ्ठा खेत र विराटनगर महानगरपालिका– ५ मा १० धुर जग्गामा बनेको घर बिक्री गरेर ९३ लाख रुपैयाँ सहकारीमा राखेका थिए । बचत जम्मा गरेको सहकारी सञ्चालक भागेपछि अहिले उनी रुनु न हाँस्नुको अवस्थामा छन् । पछिल्लो समय सहकारी खोल्ने र बचतकर्ताको पैसा लिएर भाग्नेको कमी छैन । सहकारीमा जम्मा गरेको बचतकर्ताको रकम कुम्ल्याएर भाग्नेको संख्या उत्तिकै बढ्दो छ ।

धेरै ब्याज पाउने लोभले घरजग्गा बेचेर राखेको आफ्नो पैसा डुबेको गुरागाईं बताउँछन् । गुरागाईं जस्तै तुलसी सहकारीबाट पीडित अर्का बचतकर्ता हुन्, टोलनाथ भट्टराई । विराटनगर महानगरपालिका– ५ का ६८ वर्षीय भट्टराईले ३५ वर्ष शिक्षण पेशाबाट कमाएको पैसा तुलसी सहकारीमा राखेका थिए । आफूले पढाएको विद्यार्थीले जोडबल गरेपछि उनी सहकारीमा पैसा राख्न राजी भएको सुनाउछन् । भट्टराईले दुई वर्षअघि पटक–पटक गरेर ७२ लाख २३ हजार रुपैयाँ आफूले जम्मा गरेको बताउँछन् । ब्याजको लोभ देखाएर नै उनले सहकारीमा बचत गरेको सुनाउछन् ।

यता, सहरकारी पीडितका अध्यक्ष रुद्रबहादुर अधिकारीले पनि तुलसी सहकारीमा ५० हजार बचत गरेका थिए । उनले पनि काठमाण्डौको घर बेचेको पैसा सहकारीमा राखेका थिए । बैँकमा बचत भइरहेको पैसा सहकारीमा राख्दा डुबिन्छ भन्ने कल्पना समेत नगरेको उनी सुनाउछन् । ‘काठमाण्डौको घर बेचेको पैसा थियो, बैँकमा राखेको थिए,’ उनले भने,‘सहकारीमा जम्मा गर्ने हुँदा डुबियो यस्तो हुन्छ भन्ने थाहा पनि थिएन ।’
सरकारले पनि सहकारी पिडितको समस्यालाई सम्बोधन चाँडै गर्ला जस्तो विश्वास नभएको उनी बताउछन् । समस्यालाई सम्बोधन गर्ने भन्दै आउनेले नै सहरकारी पिडितलाई आश देखाउदै पैसा समान उठाएर खाने गरेको उनको गुनासो छ । ‘कतै सस्तो जग्गा देखाएर महँगो दाममा लिनुभन्छन’ यनी भन्छन् ,‘ पिडित माथी पिडित बनाएको छ । रकम फिर्ता गर्न लागि परेका छौँ , हेरौँ कहाँसम्म पुर्याउछ ।’ उनीहरु जस्तै तुलसी सहकारी संस्थामा धेरै व्याज पाउने आशमा पैसा डुबाउनेहरुको संख्या थुप्रैै छन् । कतिले घर जग्ग बेचेर बचत गरेको छन् । त कतिले व्यवसायबाट आएको रकम बचत गरेका छन् ।
उनीहरु सबै पैसा डुबेपछि पैसा फर्कने आशमा विभिन्न स्थान धाइरहेका हुन्छन् । भने पीडित भएकाहरुले बचत फिर्ताको वातावरण बनाउन सरकारलाई अझै पनि आग्रह गरिरहेका छन् ।

२०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको सञ्चालनको जिम्मा २०७२ सालमा केदारनाथ शर्माले लिएका थिए । विराटनगरको विराट नर्सिङहोम चोकमा कार्यालय खोलेर उनले झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय खोलेका छन् । प्रहरीले गरेको अनुसन्धान अनुसार मुख्य कार्यालय विराटनगर र तीन वटा शाखा कार्यालय रहेको सहकारीले २१ हजार १५४ जना बचतकर्ताबाट एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ बचत संकलन गरेको पाइएको छ । सहकारीको केन्द्रीय कार्यालय विराटनगरमा १० हजार १७८ वटा निक्षेप खाता छन् । त्यस्तै दमक शाखामा ६ हजार ९६८, गाईघाट शाखामा ३ हजार ३३४, गोलबजार शाखामा ६७४ सहित २१ हजार १५४ वटा खाता छ । मुख्य कार्यालय र सबै शाखा कार्यालय हाल बन्द छन् । तुलसीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख ८ हजार, दमक शाखामा ६० करोड ७२ लाख ९३ हजार, गाईघाट शाखामा २३ करोड ६६ लाख ९६ हजार र गोलबजार शाखाबाट ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन भएको थियो ।

सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्माले अनधिकृत रुपमा आफ्नो कम्पनीमा ऋण प्रवाह गरेका थिए । आर्थिक रुपमा टाट पल्टिएपछि गत फागुन १ गते देखि सहकारीको कार्यालय बन्द छ । ठगी मुद्दामा गत चैत २४ मा जिल्ला अदालत मोरङको आदेशपछि उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवास पुर्पक्षका लागि थुनामा छन् ।
सर्वसाधारणको १ अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेको सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३७८ रुपैयाँ अध्यक्ष केदार शर्माको ६ वटा कम्पनीमा ऋण लगानी गरेको देखिन्छ ।

सहकारीको कुल पूँजी १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २९१ रुपैयाँ छ । जसमध्ये एक अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ ऋण लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्