‘विराट गोल्डकप’, सुस्त प्रचार–प्रसार : विराटनगरवासीलाई नै थाहा छैन विराट गोल्डकप कहिले हो…?

‘विराट गोल्डकप’, सुस्त प्रचार–प्रसार : विराटनगरवासीलाई नै थाहा छैन विराट गोल्डकप कहिले हो…?

प्रेम देवान
विराटनगर । आयोजकको कमजोर तयारीका कारण आठौं संस्करणको विराट गोल्डकपको प्रचार–प्रसार न्यून भएको छ । विराटनगरको पहिचान झल्काउने गोल्डकपको प्रचारप्रसार नहुँदा कहिलेदेखि हो ? भन्ने जानकारी विराटनगरवासीलाई समेत छैन ।

यस पटकको विराट गोल्डकप कहिले हो ? भन्ने बारेमा विराटनगरवासीलाई जानकार नभएका कारण पनि प्रतियोगिता अवधीभर दर्शकको उपस्थिति फितलो हुने अनुमान गरिएको छ । विगतको बर्षहरुमा ट्रष्टको कार्यसमितिले संयोजक राखेर विराट गोल्डकप गराउँदै आएको थियो । तर यसपटकदेखी भने विराट गोल्डकप ट्रष्ट आफैले गर्दै आएको छ । विगतमा विराट गोल्डकपलाई निजी क्षेत्र र संस्थागत रुपमा स्थानीय तहले संयोजन गरेको थियो । त्यस बेला प्रचारप्रसार राम्रो हुँदा दर्शकको उपस्थिति हुने गरेको छ । विराट गोल्डकपको एक महिनादेखि हुने प्रचारप्रसारको झल्को यस पटक आयोजकले दिन नसकेको हो ।

विराटनगर ११ सुजन थापा भन्छन्, यसपटकको विराट गोल्डकपबारे बजारमा कुनै चर्चा छैन, उनका अनुसार सञ्चारमाध्यमले समेत कम प्राथमिकतामा राखेका छन् । उनले कम प्रचारप्रसारले कम चासो हुँदा दर्शक बिनाको खेल हुनसक्नेतर्फ आयोजक सतर्क हुनुपर्ने बताए ।
यता विराट गोल्डकपका निवर्तमान अध्यक्ष सन्तोष बानियाले पनि विगतको जस्तो प्रचारप्रासार नभएको स्वीकारेका छन् । जुन विगतको बर्षहरुमा जस्तो व्यापाक रुपमा प्रचारप्रसार हुन्थ्यो त्यो यस पटक कम भएकै हो बानियाले भने,’ ट्रष्ट आफैसँग बजेट नभएका कारण पनि हुनसक्छ । एक त छोटो अवधी पनि भयो नयाँ पुस्ताका टिमहरु छन् मेनेजमेन्ट गर्न केही समय लाग्न सक्छ तर पनि साथीहरुले प्रयास भने गरेकै छन् ।

२०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०६७ सालदेखि विराट गोल्डकपको स्वरूप परिवर्तन भएको थियो । २०१८ सालबाट महेन्द्र गोल्डकपको नामबाट विराटनगरमा फुटबल प्रतियोगिता हुँदै आए पनि गणतन्त्र स्थापनासँगै ०६७ सालमा यसको नामसहित विधान र संरचना परिवर्तनको कार्य अघि बढैसँगै विराट गोल्डकपको आठौँ संस्करण यहाँ आईपुगेको छ ।
आठौँ सस्करणसम्म आईपुग्दा ट्रष्टले धेरै नै वाधाअवरोध खेप्नुपर्यो । कहिले दरिलो संयोजक नभेटिने त कहिले कोरोना माहामारीले विराट गोल्डकपलाई निरन्तता दिनको लागी वाधा अडचन आईपरे ।

मुनाफा दिलाउने संयोजक
२०७१ र ७२ सालमा पहिलोपटक उद्योगी व्यवसायी राजेन्द्र राउतलाई गोल्डकप गराउनको लागि जिम्मेवारी दिएको थियो । ट्रष्टकै सहमतिमा उद्योगी राउतले २ पटक सम्म संयोजक भएर गोल्डकप गराए । आफ्नो दुई संस्करणमा झन्डै २३ लाख मुुनाफा ट्रष्टलाई दिलाएका राउतले त्यसपछि हात झिके । त्यस अगाडी भीम कुँवरले दुई संस्करण विराट गोल्डकप गराएका थिए ।
त्यसपछि ट्रष्ट कै आन्तरिक विवादका कारण २०७३ सालमा प्रतियोगिता हुन सकेन । त्यसपछि पुनः २०७४ सालमा उद्योगी नविन रिजाललाई विराट गोल्डकपको संयोजकको जिम्मेवारी दिइयो । रिजालको पालामा साढे ६ लाख नाफा भयो । यो गोल्डकपको एउटा सकारात्मक सन्देश थियो, विराटनगरमा रात्रीकालिन फुटबल हुनसक्ने । रिजालले बाँसमा अस्थायी फ्लडलाइट जडान गरेर गोल्डकप गराए । उनका अनुसार त्यो बृहत सन्देश दिन व्यक्तिगत रुपमा ५÷६ जनाले ३० लाख खर्च गरेर फ्लडलाइट जडान गरेका थिए । त्यसको फाइदा प्रदेश सरकारले रंगशालामा स्थायी फ्लडलाइट जडान गरिदियो
त्यसपछि २०७५ र ७६ सालमा कोभिड १९ महामारीका कारण गोल्डकप हुन सकेन । कोभिडबाट थलिएको आर्थिक अवस्था र स्वास्थ्य समस्याका कारण ट्रष्टका जिम्मेवार पदाधिकारी छैटो संस्करणका लागि तयार देखिएनन् ।
०७७÷७८ साल गोल्डकप गराउन बाहिरबाट पात्रका संभावना बढ्यो । यसैक्रममा ट्रष्टीज मध्येका उद्योगीर्फबाट मनोज विक्रम शाहलाई ट्रष्टले जिम्मेवारी दिएको थियो । चैत्र अन्तिमदेखि बैसाखको पहिलो सातासम्म भएको प्रतियोगितामा ट्रष्टलाई ८ लाख ५ हजार रुपैयाँ मुनाफा दिलाएको शाहले बताए ।
गएको बर्षमा भने विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालालाई संरक्षक एमव संयोजक तोेकेर गरिएको थियो । सातौं स्रस्करणको गोल्डकप भने घाटा भएको भनाई छ । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण पर्सि चैत १५ देखि २४ गते देखी ट्रष्ट आफैले गर्न लाग्दैछ के कति मुनाफा कमाउने हो त्यो हेर्न भने बाँकी छ ?

ट्रष्ट सुरु मै विवादित
आठौं संस्करणमा डिफेन्डिङ च्याम्पियन विराटनगर सिटी एफसीलाई आयोजकले समावेश नगर्ने भएपछि ट्रष्ट प्रति विराटनगर सिटी एफसीले चर्को गुनासो पोखेको छ । सातौं संस्करणमा विजेता बनेको विराटनगर सिटी एफसीलाई आयोजकले निम्ता नै नदिएको भन्दै डिफेन्डिङ च्याम्पियनको टिमले आफ्नो धारणा राख्दै गुनासो पोखेको छ । विराटनगरमा आयोजना हुने गोल्डकपको ६० वर्षपछि घरेलु टिमले उपाधी जितेको थियो । तर, यस पटक विाट गोल्डकप ट्रष्टले डिफेन्डिङ च्याम्पियनलाई हटाएर आयोजक मोरङ ११ लाई समावेश गराएको छ ।
यही चैत १५ गतेदेखि २४ गतेसम्म दश टिम सहभागी गराएर गोल्डकप हुने तयारी छ । आयोजकका अनुसार मोरङ जिल्ला फुटबल संघको निर्णय अनुसार नै विराटनगर एफसीलाई सहभागि नगराईएको उल्लेख गर्दै पत्राचार गरेको थियो । ट्रष्टको विधानमै डिफेन्डिङ च्याम्पियनलाई सहभागी गराउनु पर्ने प्रावधान नरहेको अध्यक्ष किशोर बहादुर शाहीले बताएका छन् ।

विगतमा उपाधी जित्ने टिम
६१ वर्षपछि घरेलु टोली विराटनगर सिटी फुटबल क्लब (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो। फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले ६१ वर्षपछि उपाधि उचालन सफल भएको थियो ।

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।

विगतमा उपाधी जितेका टिम

२०१८–इलेभेन ज्वेल्स भारत

२०१९–मोरङ ११

२०२०–भातृ संघ

२०२१–मालदा टाउन ब्वाइज

२०२२–मालदा टाउन ब्वाइज

२०२३–विधान चन्द्र कलेज इन्डिया

२०२४–मित्रा साम्लिमी

२०२५–शान्ता फोसिया क्लव

२०२६–साना बीएसपी क्लव

२०२७–उसा टेलिहाइस्ट

२०२८–कोर अवेन क्लव

२०२९–जर्ज टेलिग्राम

२०३०–टाउन क्लव

२०३१ –थिम्पु ११

२०३२–कन्ट्रोल एक्साइस

२०३३ –एशियन नर्थ क्लव

२०३४ –महेन्द्र पुलिस क्लव

२०३५–लर टाउन क्लव

२०३७ –एमसिआर क्लव

२०३८–ब्वाइज यूनियन

२०४४–जनकपुर चुरोट कारखाना

२०४५–मनाङ मस्र्याङदी क्लव

२०४८–जनकपुर चुरोट कारखाना

२०५१–इस्टर्न रेलवे

२०५४–एनआरटी क्लव

२०५६ –आरसिटी क्लव

२०५९–महेन्द्र पुलिस क्लव

२०६०–महेन्द्र पुलिस क्लव

२०६८ –हिमालयन शेर्पा क्लव

२०६९–संकटा क्लव

२०७१ –झापा ११

२०७२ नेपाल पुलिस क्लव

२०७५ थ्रिस्टार क्लव

२०७७ एपीएफ

२०७९ विराटनगर सिटी फुटबल क्लब

२०८० ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्