विराटनगर बजारमा छैन मुल्यसूची

विराटनगर बजारमा छैन मुल्यसूची

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका मुख्य बजारका कृषि उपजको मुल्य सूचना प्रणाली सुरु गरेको छ ।

किसान, उपभोक्ता र व्यापारीको सहजताका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयले मुख्य बजारको कृषि उपजको मूल्यसूची सार्वजनिक गर्नका लागि कृषि सूचना प्रणाली सुरु गरेको हो ।

मन्त्रालयले वेभसाइट र मोबाइल एप बाट हरेक दिन कृषि उपजको बजारमूल्य सार्वजनिक गर्नेछ । बुधबार कृषि मूल्य सूचना प्रणालीको उद्घाटन कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले उद्घाटन गरे । कृषि क्षेत्रको सवलीकरण र व्यवसायीकरणसँगै कृषक, व्यवसायी तथा उपभोक्ताको सहजताका लागि सूचना प्रणाली सञ्चालनमा ल्याइएको मन्त्रालयमा प्रवक्ता पशुपति पोखरेलले जानकारी दिए ।

कृषि मुल्य सूचना प्रणालीमा कृषि बजार व्यवस्थापन समिति धरान, कृषि बजार व्यवस्थापन समिति बिर्तामोड, कृषि बजार व्यवस्थापन समिति इनरुवा, पालिका स्तरीय कृषि बजारहरु सगरमाथा कृषि थोक बजार गाईघाट, कृषि तथा पशुपन्छी बजार दुहवी, दमकको नयाँ सब्जी बजार र जाल्पादेवि कृषि उपज संकलन केन्द्र, धनकुटा जोडिएका छन् । हरेक दिन ती बजारको मूल्यसूची अपडेट हुनेछ ।

विराटनगरको ठूलो गुद्री बजारको भने मूल्य सूचना प्रणाली समावेश छैन । विराटनगरको बजार अव्यवस्थीत भएका कारण सूचना प्रणालीमा समावेश नभएको हो । मन्त्रालयका प्रवक्ता पोखरेलले विराटनगरको बजारमा मूल्य हेर्ने समिति नरहेको बताए । समिति बनेपछि विराटनगरको मुल्य पनि प्रणालीमा समावेश हुनेछ । मूल्य सूचना प्रणालीमा कोशी प्रदेश बाहिरका कृषि थोक बजारहरुमा बुटवल, पोखरा र काठमाडौंका कृषि थोक बजारहरुको मूल्य सूची पनि हेर्न सकिने उनले बताए । विराटनगरको मुख्य बजार गुद्री बजार केही व्यक्तीले सञ्चालन गरेका छन् । मुल्यसूची व्यवस्थापनका लागि समिति बनेको छैन ।

प्रण्ढाालीमा जोडिएका बजारको हरेक दिनको कृषि उपजको मूल्य विहान ७ देखि ११ बजेभित्र अद्यावधिक हुनेछ । बजारको मुल्यसूची संकलनका लागि हरेक बजारमा तथ्याङ्क संकलक तोकिएका छन् । मूल्य सूचना प्रणालिमा सार्वजनिक गर्नुभन्दा अघि सम्बन्धित बजारले मुल्य पूनः प्रमाणीकरण गर्ने भएका कारण वेभसाइटमा रहेको र बजार मुल्यमा फरक नपर्ने उनको भनाई छ । किसान र बजारका साथै कृषि क्षेत्रमा अनुसन्धान गर्न चाहनेलाई सूचनाप्रणाली प्रभावकारी हुने प्रवक्ता पोखरेलले जानकारी दिए । सूचना प्रणालीले मूल्यको जानकारीसँगै उत्पादकलाई व्यपारी र ग्राहकसँग सिधै जा्डन सक्ने उनले बताए ।

कृषि उपजको मूल्यसँगै बजारहरुमा कृषि उपजहरुको खरिद बिक्री गर्ने व्यापारीहरुको नाम र फोन नम्बरपनि सूचना प्रणालीमा छ । जसले गर्दा उत्पादकहरुले सिधै व्यापारीसँग समन्वय गरी आफ्ना उत्पादनलाई बिक्री गर्ने उनको भनाई छ । ३७००१ मा म्यासेज गरेर पनि मुल्यसूचीका बारेमा जानकारी लिन सकिने उनको भनाई छ । सहज आयोजना, साना सिंचाई कार्यक्रम र स्वीस विकास सहयोगको सहकार्यमा मन्त्रालयले सूचना प्रणालीको विकास गरेको हो ।

कृषि मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले सूचनाप्रणाली सुरुवात भएकाले यसलाई थप विकास गर्दै लैजाने बताए । अन्य बजारलाई पनि सूचना प्रणालीमा जोड्ने उनले बताए । प्रणालीको उद्घाटन गर्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्