इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड

इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड

काठमाडौं । पूर्वी नेपालको इलामस्थित सिद्धदेवी टी स्टेटले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको छ ।

हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्व चिया एक्सपो २०२४’ मा चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको हो । अमेरिकास्थित वल्र्ड टी एक्सपो डट कमका अनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको हो ।

सिद्धदेवी टी स्टेट कम्पनीले ‘ग्रान्ड च्याम्पियन’, ‘बेस्ट लिकर’ र ‘बेस्ट ह्वाइट टी’ गरी चार विधामा उपाधि जितेको हो । सूचीमा रहेका १३ देशका पेय पदार्थमध्ये कम्पनीले ‘ओरिजिन विनर’को उपाधि पनि प्राप्त गरेको कम्पनीले जनाएको छ । पाँचथर र इलामको सीमाना रहेको यो टी स्टेटले ग्रिन टी, ब्ल्याक टी, व्याइट टी लगायत उत्पादन गर्दै आएको छ ।

उक्त एक्सपो चिया उद्योगहरुको विश्वमै सबैभन्दा ठूलो एक्स्पो हो । उक्त एक्सपोमा विश्वका उत्कृष्ट प्रयोगशालाबाट चियाको नमुना परीक्षण र टी टेस्टरले स्वाद चाखेर चियाको गुणस्तर घोषणा गर्दै आएका छन् । उक्त एक्सपोमा अवार्ड जितेका कम्पनीहरुले अन्तर्राष्ट्रिय चिया बजारमा उत्कृष्ट चिया र उत्पादकहरूको प्रतिनिधित्व गर्दै आएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा.दीपक खनालले नेपालमा उत्पादन हुने चियाले गुणस्तरीयताका कारण बारम्बार विश्वस्तरीय अवार्ड जित्दै आएको बताए । ‘दक्षिण एसियाली क्षेत्रमा उत्पादन हुने उत्पादनमा नेपाली चियाले राम्रो पहिचान पाएको छ,’उनले भने ।

आर्थिक वर्ष २०२२/२३ मा मुलुकमा २६ हजार ४ सय टन चिया उत्पादन भएको नेपाल चिया तथा कफी विकास बोर्डको अभिलेखले देखाएको छ । २० हजार २३० हेक्टर जमिनमा चिया लगाइएको बोर्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्