देशको माटो छोएर सन्तान हुर्काउने संघर्ष गर्ने आमा

देशको माटो छोएर सन्तान हुर्काउने संघर्ष गर्ने आमा

इन्दु साह
विराटनगर । सन्तानको माया आमा बुवा दुवैमा हुन्छ । सन्तानको जन्म पश्चात आमा बुबा दुवैजनामा सन्तान हुर्काउन उत्तिकै जिम्मेवारी हुन्छ । तर सन्तान भएका दम्पतिको सम्बन्धमा खटपट भए कानुनले आमालाई सन्तानको संरक्षक मान्छ । सम्बन्ध विच्छेद मात्र नभएर अन्य विभिन्न कारण दम्पती अलग हुने बाध्यता हुन्छ । कतिपय महिलाले भने श्रीमानसँगको सम्बन्ध विग्रिए पछि सन्तानलाई आफैं पालनपोषण गर्ने गरेका छन् । समाजमा यस्तै धेरै आमाहरु छन् जसले केवल सन्तानका लागि संघर्ष गरिरहेका हुन्छन् । कतिपय आमाले सन्तानको पालनपोषण र जागिरसँगै गरिरहेका हुन्छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत उर्मिला गुरुङ उमेरले ४७ वर्ष पुगिन् । उनले एकल आमा भएर दुई सन्तान हुर्काएर पढाउँदै छिन् । उनी अहिले प्रहरी सहायक निरीक्षक छिन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनी आमाको जिम्मेवारीबीच देशको सेवा गरिरहेकी छिन् । गुरुङको दुई सन्तान छन् । उनको विवाह भएको २५ वर्ष भएको छ । ‘पहिला सन्तान सानो हुँदा कसरी हुर्काउने भन्ने चिन्ताले दिन रात सताईरहन्थ्यो, अझ नेपाल प्रहरी भन्ने बित्तिकै छुट्टी पाईदैन । त्यसैले मैले छोरा, छोरीलाई माईतीमा राखें र आफु सन्तानको पालनपोषणमा अभाव हुन् नदिन जागिर निरन्तर गरिरहे । कतिपय यस्ता समय समेत आयो जहाँ सन्तानलाई माया दिन उनीहरुसँग बस्नुको सन्तानको उज्ज्वल भविष्यको लागि संघर्ष गर्नु भन्ने चिन्ता हुन्थ्यो । तर, सन्तान हुर्काउन लाग्ने खर्चको जोहो आफैँले गर्नु पर्ने भएकोले मैले जागिर गरेको सुनाउँछिन् ।

कति पटक डयुटीमा हुँदा सन्तानको यादले भाबुक हुने गरेको सुनाईन । चाडपर्वमा सन्तानले आमा तपाईको घर आउने विदा कहिले दिन्छ भन्दा उनी मन भित्र भित्रै भक्कानिने गरेको बताउँछिन् । प्रहरीको जागिर बाहिरबाट जतिनै कठोर भएतापनि आमा भएको नाताले सन्तानसँगको माया बिर्सन नसकिने । तर, आफु सन्तानदेखि टाढिनुको पिडा कसैसँग पोख्न नसक्ने सुनाउँछिन् । आमाको ममता त मेरो सन्तानले सायद महसुस पनि गर्न पाएन्न । उनीहरु माईती घरमा म यता जागिरमा व्यस्त थिए । मैले पनि सन्तानलाई हुर्काउँदा दिनुपर्ने माया पर्याप्त नदिएको महसुस गरेकि छु । दुई सन्तानको जिम्मेवारी मेरो एक्लो काँधमा भएकोले म भावनामा बहकिन पनि सक्दिनथे । त्यसैले मैले आफुलाई सन्तानको प्रेममा कमजोर बनाउन सकिन र जागिर पनि छोडिन ।

उनको छोराले स्नातकको पढाई पुरा गरेकाछन् । उनकी छोरीले स्नातक स्तरको पढाई गरिरहेकी छिन् । आमासँगै प्रहरीको जागिर निर्वाह गर्न सहज त छैन तर देशप्रतिको समर्पित भावना पनि कमजोर हुनुहुन्थ्यो । जसोतसो सन्तानको लागि संघर्ष अझै गरिरहने छु ।

यस्तै २०७४ सालमा विवाहाको बन्धनमा बाधिएकी ३० वर्षीय सुमित्रा खत्री अहिले आफ्नो सन्तानको लागि संघर्ष गरिरहेकी छिन् । २५ वर्षको उमेरमा उनले प्रेम विवाह गरेकी हुन् । उनी शसस्त्र प्रहरी बलमा कार्यरत छिन् । उनीसंग शसस्त्र प्रहरी बलमा जागीरेसंग प्रेम विवाहा भएको थियो । तर, उनीहरुको सम्वन्धमा भएको खटपटले छुट्टिएर बस्न वाध्य हुनुपरेको थियो । दुई वर्षकी छोरी लिएर उनले श्रीमान्को घर र साथबाट अलग हुने निर्णय लिइन् । छोरीसंगै जागिर समेत सम्हाल्नु पर्ने अवस्था आएपनि उनी संघर्षका लागि तयार भएकी छिन् ।

अहिले उनले ५ वर्षीय छोरीलाई कहिले माईती कहिले होस्टल राख्दै ड्यूटीमा छिन् । सानी छोरीले बुबाको त मायाबाट बन्चित भईन् साथै आफुले आमाको ममता दिन नपाउँदा दुःख मान्छिन् । उनले छोरीको औषधी उपचारदेखि पालन पोषण र पढाईमा हुने खर्च जुटाउन जागिर गर्नै पर्ने अवस्था छ । उनी भन्छिन् घरपरिवारको तनाव व्यवस्थापन गर्न उनलाई असजिलो हुने गरेको छ ।

छोरीसँग फोनमा दैनिक कुरा गरिरहने गरेको उनी सुनाउँछिन् । एकातिर ड्युटी र अर्कोतिर छोरीको जिम्मेवारी निभाउनु उनका लागि चुनौतीको पहाड छ । तर, पनि काखमा लिएर हुर्काउनु पर्ने छोरीको माया मात्रै संगालेर देशका लागि आफ्नो कर्तव्य निर्वाह गरिरहेको उनी बताउँछिन् । छोटो समयको विदा पाए छोरी भए ठाउँ पुग्छु, समय र परिस्थितिले कमजोर बनाएको सुनाउँछु, उनले भनिन्–छोरीको मुख हेरेर संघर्ष गर्ने हौसला बटुलेकी छु ।

मोरङ जिल्ला अदालत अगाडि कानुन व्यवसायीको फर्ममा कार्यरत ३४ वर्षीय शान्ति साह पनि दुई सन्तानको लागि संघर्ष गरिरहेकी आमा हुन् । उनको १८ वर्षको उमेरमा विवाहा भएको हो । विवाह २०६४ सालमा भएपछि श्रीमानसँग सम्बन्ध बिग्रिए पश्चात उनको काँधमा दुई सन्तानको जिम्मेवारी छ । श्रीमानकै घरमा बसे पनि वैदेशिक रोजगारीमा भएको उनको श्रीमानले घर खर्च नपठाउँदा उनी आफैँले जीवन निर्वाह चलाउने प्रयत्न गरिरहेकी हुन् । १३ वर्षको र १० वर्षको दुई सन्तान उनको कमाईसँगै आश्रित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्