काठमाडौं । नेपाली राजनीतिमा उदाएको केही वर्षमै प्रभावकारी स्थान बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुको प्रशस्त सम्पत्ति रहेको उनीहरुको विवरणमा छ । सरकारले मंगलबार प्रधानमन्त्रीसहित २३ मध्ये २१ मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्रिपरिषद् सदस्य रास्वपाका चार जनाको पनि विवरण प्रकाशित गरेको हो ।
सरकारमा रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री छन् भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ छन् ।
लामिछानेको धेरै सम्पत्ति श्रीमतीको
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ नगद बचत छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा देखाइएको छ ।
लामिछानेको सो बाहेक सम्पत्ति अन्य केही देखाइएको छैन । तर, उनकी पत्नी निकिता पौडेलको नाममा भने बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ । यस्तै, विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको विवरण देखाइएको छ । उक्त घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँ ऋणमध्ये अब १ करोड ५० लाख तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।
लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन र २० केजी चाँदी रहेको खुलाएका छन् । त्यसको स्रोत अधिकांश निकिताका बाबुआमाले दिएको र केही खरिद गरेको उल्लेख गरेका छन् । यस्तै निकितासँग सुनबाहेक १५÷२० केजी चाँदी रहेको र त्यो २५० देखि ३०० रुपैयाँ प्रति तोला भएको बेला खरिद गरेको उल्लेख सम्पत्ति विवरणमा उल्लेख छ ।
निकिताको नाउँमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको र सवारीसाधनमा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । सो कार ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा खरिद गरिएको विवरणमा उल्लेख छ । विवरण अनुसार नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक निकिता छिन् भने दुवैको भौतिक मूल्य ४ करोड भएको उल्लेख छ । नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
तीन मन्त्रीको सुन
अर्याल : १ सय ५० तोला सुन छ । यस्तै हिरा १० तोला र चाँदी १०० तोला छ । अर्यालले ती सबै गहनाहरु २०७४ सालअघि व्यापार गरेर खरिद गरेको भनि स्रोत देखाएका छन् ।
सुमना : ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप छ । श्रेष्ठले १० तोला सुन र १० नै तोला चाँदी बिहेको समयमा उपहार पाएको उल्लेख गरेकी छन् । यस्तै हिराको गहना भने हजुरआमाको शेखपछि आफूले पाएको भनि स्रोत खुलाएकी छन् ।
विराजभक्त : १५ तोला सुन र ५० तोला चाँदीका सजावटका भाँडा छन् । उनले सो सुन र चाँदीको स्रोत विवाह र पैतृक सम्पति भएको देखाएका छन् ।
तीनै मन्त्रीको घर जग्गा
अर्याल : मन्त्री अर्याल र उनको र पत्नी अम्बिका केसीका नाममा विभिन्न १२ स्थानमा करोडौं मूल्य बराबरको जग्गा रहेको छ।
काठमाडौं, धादिङ, लमजुङ र भक्तपुरका विभिन्न स्थानमा रहेका ती जग्गा व्यापार र निजी कमाइबाट झण्डै साढे ५ करोड रुपैयाँमा खरिद गरेको भनि स्रोत देखाएका छन् । यस्तै, श्रीमती र उनका नाममा विभिन्न बैंक तथा वित्तीय संस्था तथा सहकारी संस्थामा २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात छ । मन्त्रीको नाममा मेगा बैंकको १० हजार, बिग इन्भेष्टमेन्टको ३५ हजार, पिपुल इन्भेष्टमेन्टको ९ हजार र जनसागर सहकारीको १० हजार कित्ता शेयर छ । उनका दुई करोड २३ लाख रुपैयाँमा खरिद गरिएका स्वयम्भू स्टार व्याङक्वेट, सुमिरे ट्राभल्स एन्ड टुर्स प्रालि, इजी लिंक रेमिट र एपीए ह्याण्डीक्राफ्टस छन्।
श्रीमती अम्बिकाको नाममा सुवर्णभूमि सहकारीको एक हजार र संयम सहकारीको २ हजार कित्ता शेयर छ । मन्त्रीको १ करोड ऋण छ भने उनीसँग १ करोड ५० लाख मूल्य पर्ने टोयटा प्राडो कार र श्रीमतिको नाममा टाटा नेक्सन ईभी छ । जसको मूल्य ४३ लाख उल्लेख छ ।
सुमना श्रेष्ठ : बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ छ । उनको नाममा एनआईसी एसिया बैंकमा १ करोड १५ लाख छ भने एभरेस्ट बैंकमा ३७ लाख पारिश्रमिकको रकम जम्मा भएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै उनको श्रीमान् पावल स्क्याविन्स्कीको नाममा विदेशमा १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार युरो रहेको छ । उनीसँग एउटा स्कूटर र एक अर्को विदेशीको नाममा २० लाख पर्ने विद्युतीय गाडी रहेको छ । उनको नाममा कुनै प्रतृक सम्पती र ऋण छैन ।
विराजभक्त : विभिन्न बैंकमा जम्मा गरेको ८३ लाख ७२ हजार ७४५ रूपैयाँ छ । उनले ’सेयर मार्केट’मा एक करोड बढी लगानी गरेका छन् । श्रेष्ठले बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको र सोको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।
यस्तै उनले आफ्नै बुबा वीरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएको देखाएका छन् भने कुल ५० लाख ऋण रहेको विवरणमा उल्लेख छ । उनीसँग ८ लाख ५० हजारमा किनेको ल्यान्डक्रुजर गाडी, २ लाख ४६ हजार रुपैयाँमा किनेको विद्युतीय स्कुटर र १९ लाख ७५ हजार मूल्यमा किनेको एमजी ब्राण्डको एउटा इलेक्ट्रिक गाडी रहेको खुलाएका छन् । यस्तै उनको नाममा कुनै घर वा जग्गा नरहेको पनि सार्वजनिक विवरणमा उल्लेख छ ।