इशु पन्त
विराटनगर । विराटनगर महानगरपालिकामा चालु आर्थिक वर्षको एघार महिनामा ४२ हजार १८६ जनाले निःशुल्क औषधी प्रयोग गरेका छन् । विराटनगर महानगरपालिकाले वितरण गर्ने ३५ प्रकारका औषधी महानगरपालिकाका स्वास्थ्य चौकीबाट बिरामीलाई वितरण गरिएको हो ।
महानगरपालिकाको तथ्यांकमा ४२ हजार १८६ जनाले निःशुल्क औषधी स्वास्थ्य चौकीबाट बुझेको उल्लेख भएपनि एकिकृत स्वास्थ्य शिविर, विभिन्न संघसंस्थाका शिविरमा समेत थप औषधी वितरण गरिएको दावी छ । यद्यपी शिविरहरुमा वितरण गरिएको औषधीको तथ्यांक नभएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको तथ्यांक अनुसार सबैभन्दा बढीले ग्यास्ट्राइटिस (एपीडी) को औषधी चार हजार ६५ जनाले लिएका छन् । त्यसैगरी कार्डियोभास्कुलर र श्वासप्रश्वास सम्बन्धित समस्याहरू (उच्च रक्तचाप) को तीन हजार ७८० जनाले औषधी लिएका छन् । सामान्य लक्षण (ज्वरो) को ३ हजार ४४८ जना र सम्पर्क (जनरल परीक्षण) पछि ३ हजार २३३ जनाले औषधी लिएका छन् ।
यसैगरी टाउको दुखाई कम गर्ने २ हजार ६५१ जना , लोअर रेस्पिरेटरीट्र्याक्ट इन्फेक्सन केसहरूको २ हजार ६५१ जना, कम्युनिकेबल (पानी र खाद्यमा बोर्न) आन्द्राका किराहरूको २ हजार ३२१ जना, अपर रेस्पिरेटरी ट्र्याक्ट इन्फेक्सन २ हजार १८१ जना, सामान्य लक्षण (खोकी) को २ हजार ५० जना, सामान्य लक्षणको थकान र कमजोरीको २ हजार ७ जना, सम्पर्क गर्भवती परीक्षण १ हजार ६४९, सामान्य संक्रामक (पानी/खाद्य जनित) अनुमानित गैरसंक्रामक पखालाको २ हवा ७ जना, छाला रोगहरू (फंगल संक्रमण/लाइकेन प्लानस) केसहरूको १ हजार ३५१ जना, कार्डियोभास्कुलर र श्वासप्रश्वास सम्बन्धित समस्याहरूको १ हजार २१५ जना, अर्थोपेडिक समस्याहरू (ढाड दुखाइ) १ हजार १३९ जनाले औषधी सेवन गरेका छन् ।
यसैगरी महानगरपालिकाको तथ्यांक अनुसार अर्थोपेडिक (गठिया) समस्याको १ हजार १३९ जना, छाला रोगहरू (फङल इन्फेक्सन) को एक हजार १७५ जना र कन्जुङ्क्टिभीटिस केसहरूको १ हजार ६२ जनाले स्वास्थ्य केन्द्रबाट औषधी लिएको तथ्यांक छ ।
विराटनगर महानगरपालिकाको १९ वटा वडामा रहेका स्वास्थ्य केन्द्रबाट निःशुल्क औषधी वितरण हुँदै आएको छ । स्वास्थ्य चौकीका सेवाकर्मीहरूको परामर्शबाट सामान्य रुघा–खोकी, झाडापखाला लगायतका औषधी लिन सकिनेछ । तर, जटिल रोग भएमा बिरामीलाई अन्य अस्पताल वा विराटनगरको दक्षिणी क्षेत्रमा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर हेल्थ पोस्टमा रिफर गरिनेछ ।
महानगरका स्वास्थ्य प्रमुखका दिलिप कुमार यादवका अनुसार महानगरले ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई रक्तचाप, मधुमेह लगायतका रोगको औषधी वितरण गर्दै आएको छ। आगामी आर्थिक बर्षबाट ७५ बर्षमाथि जेष्ठ नागरिकलाई निशुल्क घरदैली स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरका १९ वटै वडामा औषधी पाइन्छ, तर हालै तीन स्थानमा ल्याब टेस्टको सुविधा प्रदान गरिएको छ। वडा नम्बर ५ र बैजनाथपुरमा डेङ्गु, गर्भवती परीक्षण, सुगर, पिसाब लगायतका ल्याब टेस्ट निःशुल्क गरिन्छ भने रानी अस्पतालमा केही सीमित शुल्क तोकिएको उनले बताए।
महानगरबासीलाई मध्यनजर गर्दै रानी अस्पतालमा बीमा कार्यक्रम पनि सञ्चालनमा रहेको छ। महानगरले मोरङ सहकारी अस्पतालसँग सहकार्य गरी विपन्न परिवारका ५ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार तथा आइसियुसम्मको सेवा उपलब्ध गराउदै आएको छ। गर्भवती महिलाहरुको स्वास्थ्य जाँच साथै आइरन, भिटामिन, क्याल्सियम जस्ता औषधी पनि उपलब्ध गराउँदै आएको छ। आधारभूत स्वास्थ्य सेवाको लागि मानक उपचार प्रोटोकल मेडिकल र सर्जिकल सहायक उपकरणहरु समेत उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ ।
जसमा शोषक कपास, टाँस्ने टेप, पट्टी, क्लोरीन पाउडर, कण्डम (पुरुष), डिस्पोजेबल सिरिन्ज, गज, आई र डी सेट, आईभी क्यानुला, आईभी सेट, फिनोल, बोतलहरू, बोतल, रबर क्याथेटर, सिल्क, सर्जिकल ब्लेड, सर्जिकल ग्लोभ्स (डिस्पोजल), सिवन सेट, रेक्टिफाइड स्पिरिट गरी १८ वटा सहायक उपकरण पाइन्छ। यो सूचीमा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र अन्य सबै उमेर समूहका व्यक्तिहरूका लागि आवश्यक औषधीहरू पनि समावेश गरिएको छ।